१० साउन २०८३, आइतबार

पोखरामा ग्राउण्ड ह्याण्डलिङ गर्ने बुद्ध एयरको प्रस्ताव

मंसिर १२, २०७९
पोखरामा ग्राउण्ड ह्याण्डलिङ गर्ने बुद्ध एयरको प्रस्ताव

पोखरा विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडानमा ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध एयरले निवेदन दिएको छ । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ कार्यको प्रस्ताव नेपाली नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरी १, २०२३ बाट शुरु हुने गरी बुद्धले सम्पूर्ण आन्तरिक तयारी गरिसकेको र निवेदन दर्ता गरेको विज्ञप्ति जारी गर्दै जनाएको हो । 

धेरै वर्षको मिहिनेत र खर्चपछि पोखरा विमानस्थल तयार भएको जनाउँदै बुद्ध एयरले यस विमानस्थलको भरपूर उपयोग गर्नुपर्नेमा जाेड दिएकाे छ । विमानस्थलमार्फत धेरैभन्दा धेरै पर्यटक (आन्तरिक एवं वाह्य) पोखरा र सम्पूर्ण गण्डकी प्रदेशमा भित्र्याउने बाटो खुलेको बुद्ध एयरले बताएको छ । विशेषतः गण्डकी प्रदेश र हरेक नेपालीको जीवनस्तर उकास्न पोखरा विमानस्थलले विशेष भूमिका खेल्ने बुद्ध एयरले विश्वास व्यक्त गरेको छ । 

बुद्ध एयरले यस अन्तर्राष्ट्रिय विमानस्थलको शुरुवातबाटै पाँचवटा विमान रात्री–बिसान गरी साताको ३०० उडान भर्ने कार्यतालिका बनाएको छ । जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्नेछन् । अन्तर्राष्‍ट्रियतर्फ साताको तीन दिन भारतको बनारस उडान भर्ने छन् । यसैगरी बुद्ध एयरले सम्बन्धित निकायमा साताको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको जनाएकोे छ ।

पोखराबाट जेट विमानहरूले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरू, कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा बुद्ध एयरका प्राविधिक टिमले अध्ययन गरिरहेको  छ । निकट भविष्यमै यस दिशातर्फ बुद्ध एयर अग्रसर हुने विज्ञप्तिमा उल्लेख छ । 

पोखरा विमानस्थल निर्माण गर्न धेरै खर्चमा लागेको र सञ्चालन गर्न पनि बढी खर्च लाग्ने भएकाले ग्राउण्ड ह्याण्डलिङ व्यवस्था एकीकृत हुन जरुरी रहेको बुद्ध एयरको ठहर छ । हाल बुद्ध एयरले देशैभरि उसको गन्तव्यमा आफैले ग्राउण्ड ह्याण्डलिङ गरिराखेको छ । बुद्ध एयरले आफूसँग लामो समयको अनुभव र पर्याप्त जनशक्ति पनि रहेको दाबी गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्