
युक्रेन युद्धका कारण युरोपेलीहरूले अनेकौं कठिनाइ बेहोर्नुपर्ने अवस्था आएको नेटोका महासचव जेन्स स्टोल्टनबर्गले बताएका छन् ।
जर्मनीको वेल्ट आन सोनटाख पत्रिकालाई अन्तर्वार्ता दिँदै स्टोल्टनबर्गले यस्तो अवस्थामा पनि युक्रेनी सुरक्षाबललाई बलियो बनाउन सहयोग गरिरहनुपर्ने र युद्ध जारी राख्नुपर्ने बताए ।
‘खाना र ऊर्जाको महसुल बढिरहेकाले युरोपमा धेरै घरपरिवारलाई नकारात्मक असर परेको छ,’ उनले बताए, ‘तर युक्रेनी जनताले दिनदिनै आफ्नो रगतको बलिदान दिइरहेको हामीले याद गर्नुपर्छ ।’
युक्रेनलाई सैन्य सहयोग दिइरहेमा वार्ताको टेबलमा युक्रेनको हैसियत बढ्ने उनको भनाइ छ । ‘शान्तिका लागि सबभन्दा प्रभावकारी उपाय भनेको युक्रेनलाई सहयोग गर्नु नै हो,’ उनले थपे ।
रुसले जाडोलाई युक्रेनविरुद्ध हतियारका रूपमा उपयोग गर्ने उनको भनाइ छ । आगामी केही महिना युक्रेनका लागि कष्टकर हुने उनी बताउँछन् ।
अक्टोबर महिनाको शुरूतिरबाट रुसले युक्रेनको ऊर्जा संरचनामा आक्रमण गरिरहेकाले अहिले युक्रेनमा मानिसहरू जाडोमा कठ्यांग्रिन बाध्य छन् ।