
डोटीका किसानले उत्पादन गरेको अदुवा बिक्री नभएपछि उनीहरू मर्कामा परेका छन् ।
जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्ट लगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन नसकेको छैन ।
अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष ४ प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण यहाँका किसान मारमा परेका हुन् । गत वर्ष व्यापारीले अदुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले खरिद गरेका थिए ।
यस वर्ष किसान प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्री गर्न बाध्य छन् ।
भारतीय व्यापारी नआउँदा अदुवाले उचित मूल्य पाउन छाडेको बडीकेदार गाउँपालिका–४ रनुकाँडा सुनौलो किरण कृषक समूहका अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताए । गत वर्ष आफूले ५० हजार रुपैयाँ हात पारेको तर यस वर्ष २५ हजारको पनि अदुवा बिक्री गर्न नसकेको जानकारी दिए ।
सरकारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत जिल्लाको मुख्य नगदे बालीका रूपमा स्थापित अदुवा खेतीको प्रवद्र्धन गर्दै आए पनि नेपालमा प्रशोधन केन्द्र नहुँदा भारतीय व्यापारीको भर पर्नुपर्ने बाध्यता रहेको बताए ।
किसानका समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि पहल गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउँदले बताए । किसानले उत्पादन गरेको अदुवाको बजारीकरणका लागि सहजीकरण गर्न पालिका सरकार लागि परेको उनको भनाइ छ ।
सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाको मुख्य नगदे बालीका रूपमा स्थापित अदुवा खेतीेको प्रवद्र्धन गर्दै आएको छ ।