
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले हाल संसद् भवनको रूपमा प्रयोग भइरहेको वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआईसीसी) तत्काल खाली गर्न सरकारसँग माग गरेका छन् ।
सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवमा विद्यमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरका मेला महोत्सव गर्नको लागि हलको आवश्यकता रहेको भन्दै बिआइसीसी भवन संसद बस्नको लागि नभई अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालनका लागि भएकाले तत्काल खाली गराउनुपर्ने बताएका हुन् । उनले सरकारले ठूला–ठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने बताए ।
‘काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको हल आवश्यक छ । वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआईसीसी) संसद भवन चीनले अन्तर्राष्ट्रियस्तरको हलका लागि दिएको हो । त्यो संसद् बस्ने स्थान होइन, बिआईसीसी हललाई जतिसक्दो खाली गराउनुपर्छ’, ऐरले भने, ‘त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन, बिआईसीसी अन्तर्राष्ट्रिय प्रदर्शनी हल चीन सरकारको सहयोगमा बनेको हो, मेला महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिइएको सम्पत्ति हो, जुन प्रयोजनका लागि दिइएको हो त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ ।’
उनले प्रदर्शनी स्थल पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग पर्यटन बोर्डले सकरात्मक भूमिका खेल्ने बताए । उनले मेला महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।
सरकारले २०६४ सालदेखि बीआईसीसीलाई संसद् भवनकाे रूपमा प्रयाेग गरिरहेकाे छ । सिंहदरबारभित्रै नयाँ संसद् भवन निर्माण कार्य भइरहे पनि सम्पन्न हुन ढिलाइ भइरहेकाे छ ।