
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार संसदीय राजनीतिमा ‘चतुर खेलाडी’ मानिन्छन् । ३१ वर्षे संसदीय राजनीतिमा हालसम्म अपराजित उम्मेदवारका रूपमा पनि उनको परिचय स्थापित छ । त्यसबाहेक धेरैपटक सरकारमा सहभागी भएर मन्त्री भएको रेडर्क पनि उनकै नाममा छ ।
३१ वर्षे संसदीय राजनीतिक यात्रामा गच्छदार पहिलो हार नजिक पुगेका छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका उनी हार नजिक पुगेका हुन् । उनी सोही क्षेत्रबाट यसअघि पटक–पटक निर्वाचित हुँदै आएका थिए । यसपटकको निर्वाचनमा उनी नेकपा एमालेकी भगवती चौधरीसँग पराजित हुने अवस्थामा पुगेका छन् ।
हालसम्म मत गणना सकिएको छैन । यद्यपि, मत गणना कार्य अन्तिम चरणमा पुग्दा चौधरी र गच्छादारबीच ६ हजारभन्दा बढीको मतान्तर देखिएको छ । यो मतान्तर घटाएर जीत हात पार्न गच्छदारका लागि करिब असम्भव देखिएको छ । चौधरी यसअघि २ पटक गच्छदारसँग पराजित भएकी थिइन् ।
हालसम्मको मत परिणामअनुसार एमालेकी चौधरीले ३६ हजार ९३६ मत पाएकी छन् । गच्छदारले ३० हजार ६०१ मत मात्र पाएका छन् । गच्छदार चौधरीभन्दा ६ हजार ३३५ मतान्तरले पछाडि छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २६९ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलदीप चौधरीले १ हजार ६४१ मत मात्र पाएका छन् ।
सुनसरी ३ मा गच्छदारलाई कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट दिँदा पार्टीभित्र र बाहिरसमेत विरोध भएको थियो । उनी विघटित प्रतिनिधि सभा सदस्य थिए । तर, ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका थिए । निलम्बित सांसद गच्छदारलाई टिकट दिइएको भन्दै त्यसको विरोध भएको थियो ।
नेपाली कांग्रेसबाटै राजनीतिक यात्रा शुरु गरेका गच्छदार मधेश आन्दोलनपछि भने छुट्टै दल दर्ता गरेर मधेश केन्द्रित राजनीतिमा लागेका थिए । उनले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेर सत्तामा पटक–पटक पुगेका थिए । उनी हालसम्म १२ पटक उपप्रधानसहितका विभिन्न मन्त्री भएका छन् । मधेशकेन्द्रित दलहरू कमजोर बनेपछि उनी फेरि कांग्रेससँग एकीकरण गरेर पुरानै पार्टीमा फर्किएका थिए ।
लामो समय संसदीय राजनीतिमा ‘कि पर्सन’का रूपमा रहेका गच्छदार यसपटक भने संसद् बाहिर रहने लगभग पक्का भएको छ ।