
मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिनुभएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।
मुख्यमन्त्रीसहित चार जना मन्त्रीमध्ये पुनः निर्वाचित भएका हुन् । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधनप्रसाद महतो पराजित भए
सप्तरी क्षेत्र नम्बर २ (१) बाट चुनाव लडेका अर्थमन्त्री साह जनमत पार्टीका सतिशकुमार सिंहसँग पराजित भएका छन् भने सिरहाको क्षेत्र नम्बर २ (१) बाट चुनाव लडेका कृषिमन्त्री यादवलाई जनमत पार्टीकै सञ्जयकुमार यादवले पराजित गरे । यस्तै उद्योगमन्त्री महतोलाई नेकपा (एमाले)का हरिनारायण महतोले पराजित गरे ।
मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित हुँदा मुख्यमन्त्री लालबाबु राउत पर्सा क्षेत्र नम्बर १ (२) बाट, कानून न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादव सिरहा क्षेत्र नम्बर ३ (२) बाट र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्बर १ (२) बाट पुनः निर्वाचित भए ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह भने सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
यसैगरी धनुषाको दुई वटा क्षेत्रबाट नेकपा (एमाले)बाट महासेठ दम्पतीले विजयी विजय हासिल गरेका छन् । धनुषा क्षेत्र नम्बर ४ मा एमालेका सचिव रघुवीर महासेठ र क्षेत्र नम्बर ३ मा उनकी धर्मपत्नी तथा एमाले नेत्री जुलीकुमारी महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । दुवै क्षेत्रमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै महासेठ दम्पतीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने अवसर पाएको हो ।
गत २०७४ सालको निर्वाचनमा महासेठले धनुषा क्षेत्र नम्बर ४ बाट चुनाव जितेका थिए भने महतो समानुपातिक सूचीबाट सांसद थिइन् । आज दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार महासेठले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई एक सय २४ मतान्तरले पराजित गरेका हुन् ।
यस्तै धनुषा क्षेत्र नम्बर ३ मा महतोले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । महतोले ३३ हजार तीन सय ८८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी झाले २३ हजार छ सय ६८ मत प्राप्त गरे ।
महासेठ दम्पतीको परिवारबाट अर्का आफन्तले पनि प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष जितेका छन् । जुली महतोका दाजु डा वीरेन्द महतो सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् ।