
स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टहरूलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ । इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरूलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो ।
हाल १ सय ७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्युआर सेवा शुरु गरिएको हो । हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुबिधा लिन सक्नेछन् भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जानकारी दिए ।
भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगायतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरू आबद्ध स्मार्ट क्यूआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरूमात्र आबद्ध रहेकोमा अबदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधामार्फत लाभ लिन सक्ने कुराले आफूहरू उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए ।
यो सेवा सञ्चालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधैं सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको भुजुले बताए ।