०८ साउन २०८३, शुक्रबार

सुनसरीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान

मंसिर १४, २०७९
सुनसरीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान

सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच बुधवार झडप भएको छ । एमालेबाट विजयी भएकी भगवती चौधरीका कार्यकर्ताले निकालेको विजय जुलुसमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेपछि झडप शुरु भएको हो । चाैधरीले कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेकी थिइन् । 

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ९ मा झडप भएको प्रहरीले जनाएको छ । दुहबी वडा नम्बर ९ का अध्यक्ष मेहदी हुसेन मियाको घर अगाडि जुलुस पुगेपछि एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो । वडाध्यक्ष मियाले घर अगाडि आएकी चौधरीलाई अबिर लगाइ दिएको र चौधरीले पनि वडा अध्यक्षलाई अबिर लगाइदिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले बताए । त्यही भेला भएका कांग्रेस कार्यकर्ताले हामीलाई किन अबिर लगाइदिएको भन्दै झगडा गरेपछि ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ । 

वडा अध्यक्ष मिया कांग्रेसबाट विजयी भएका थिए । उनका अनुसार विजय जुलुस चलिरहेको क्रममा झडप भएको हो । 

प्रहरी घटनास्थलमा भएकाले घटनालाई ठूलो हुन नदिएको समेत उनले बताए । झडपमा तीन जना घाइते भएको र उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको ढकालले बताए ।  

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्