
शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पासो’लाई दर्शकको खडेरी परेको छ । हलसम्म दर्शक नपुगेपछि चलचित्रको शोजमा भारी कटौती आएको छ ।
प्रदर्शनको पहिलो दिन चलचित्रलाई मल्टिप्लेक्सअन्तर्गतको क्यूएफएक्सले ११ शो उपलब्ध गराएको थियो । आइतवार क्यूएफएक्सले चलचित्रको शोजमा भारी कटौती गरेको छ । भोलि सोमवारका लागि क्यूएफएक्सले ‘पासो’लाई एउटा मात्रै शो उपलब्ध गराएको छ ।
आर बी. पुनको कथा, पटकथा, संवाद एवं निर्देशनमा तयार चलचित्रमा रिस्ता बस्नेत मुख्य भूमिकामा छिन् । सुनिशा बजगाईं, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रवण आकाशलगायतको पनि अभिनय रहेको चलचित्रमा भगवान भुजेलको लगानी छ ।
चलचित्रले युवती अपहरण र बलात्कारको विषयलाई उठान गरेको छ । चलचित्रको मुख्य कथाका रूपमा भने बाकसभित्र थुनिएकी युवतीले बाँच्नका लागि गर्ने कठोर संघर्षलाई पेश गरिएको छ । प्रदर्शनको पहिलो दिनबाटै दर्शकको खडेरी भोगेको चलचित्रले माउथ पब्लिसिटीबाट दर्शक बढाउने अपेक्षा थियो । यद्यपि, हेरेका दर्शकले पनि यस चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छैनन् ।