चीनका राष्ट्रपति सी चिनपिङले चिनियाँ जनमुक्ति सेनालाई अमेरिकासँगको सम्भावित लडाइँका लागि तयार रहन निर्देशन दिएका छन् ।
आफूलाई शक्तिशाली बनाउनका लागि चीनले १५ सयवटा आणविक बम र हाइपरसोनिक क्षेप्यास्त्र तयार पारिरहेको छ । त्यससँगै चिनियाँ जनमुक्ति सेनाले आफूलाई धारिलो बनाउनका लागि चक्कु रणनीतिमा पनि काम गरिरहेको छ ।
चिनियाँ सेनाले ननकमिसन्ड अधिकारीहरूमा जोड दिन थालेको छ । लामो समयसम्म सैन्य सेवामा रहने यी अधिकारीहरूलाई अत्याधुनिक प्रशिक्षण दिइनेछ ।
उनीहरूको सानो इकाइ हुनेछ र धारिलो छुरा झैं उनीहरू दुश्मनलाई चिर्दै अघि बढ्नेछन् ।
सन् २०५० सम्म चिनियाँ सेनालाई विश्वस्तरीय बनाउनका लागि ननकमिसन्ड अधिकारीहरूमा जोड दिएको बताइएको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार, मध्य तथा वरिष्ठ अधिकारीहरू लामो समयसम्म सेनामा रहनेछन् ।
ननकमिसन्ड अधिकृतहरूको व्यवस्थालाई अहिले दक्षिण चीन सागरमा रहेको स्प्राट्ली टापुमा लागू गरिएको छ । त्यहाँ रहेका जलसैनिकहरूको सेवा अवधि बढाइएको छ ।
सानो संख्यामा रहेका सैन्य इकाइले क्षेत्रीय युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने चीनको सोच छ । भविष्यमा हुने युद्धमा यी सैन्य अधिकृतहरू धारिलो चक्कुले जस्तो शत्रुको सफाया गर्न सक्षम हुनेछन् ।
युक्रेनी सेनाका ननकमिसन्ड अधिकृतहरूले रुसी सेनालाई पछि हट्न बाध्य बनाएकोबाट चीनले पाठ पढेको बताइएको छ ।