
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको समीकरण तत्कालका लागि सकिएको घोषणा गरेका छन् । एमालेसँगको तालमेल चुनावसम्म मात्रै रहेको बताउँदै उनले चुनाव सकिएसँगै एमालेसँगको समीकरण तत्कालका लागि सकिएको घोषणा गरेका हुन् ।
आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले निर्वाचनमा एमालेले केही ठाउँमा जसपालाई र जसपाले केही ठाउँमा मात्र एमालेलाई सघाएको स्मरण गरे । ‘एमालेले केही ठाउँमा हामीलाई सघाएको थियो केही ठाउँमा हामीले सघाएका थियौँ भने त्यो गठबन्धन थिएन । चुनावी समीकरण मात्रै थियो । चुनाव सकिएसँगै सबै सकियो’, उनले भने ।
यादवले सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय नभएको बताएका छन् । अहिलेको प्रतिपक्षमा बस्ने जनमत आएकाले अहिले नै के गर्ने भन्ने निर्णयमा नपुगिएको उनले बताए । संघीय सरकारमा मात्रै नभई सात वटै प्रदेश सरकारमा पनि के गर्ने भनेर निर्णय गरेर मात्रै अगाडि बढ्ने उनको भनाइ छ । अब बन्ने सरकारको नीति हेरेर सत्तामा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्ने उनको भनाइ थियो ।
परिवर्तन गर्न चाहनेहरूलाई यो चुनावले पराजय गराएको समेत अध्यक्ष यादवले गुनासो गरे । चुनावी परिणामले लोकतान्त्रिक र क्रान्तिकारीहरूबीच सहकार्य र एकता गर्नुपर्ने अवस्था सिर्जना गरेकोसमेत उनले बताए ।