
बैतडी पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहार म्यादीको जागिर सकिएको ६ दिनपछि मारिइन् । उनको कसैले हत्या गरेको घटना प्रकृतिले प्रष्ट पारेको छ ।
प्रहरीले घटनास्थलबाट करिब १ घण्टाको पैदल दूरीमा मृतक मायाको मोबाइल फेला पारेको थियो । प्रहरीले त्यही मोबाइलमा सम्पर्क भएको आधारमा सशस्त्र प्रहरी जवान भरतराम कोलीको खोजी थालेको थियो । घटनामा उनको संलग्नता हुनसक्ने भन्दै खोजी गरिएको अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रेम शाहीका अनुसार मायाले प्रयोग गर्ने मोबाइल घटनास्थलभन्दा करिब १ घण्टाको दूरीमा फेला परेको जानकारी दिएका थिए । ‘हामीले मृतकको मोबाइल फोन घटनास्थलबाट १ घण्टाको दूरीमा फेला परेका थियौँ’, इन्स्पेक्टर शाहीले भने, ‘मोबाइल हेर्दा पटक–पटक कोलीसँग सम्पर्क भएको देखिएकाले उनलाई नियन्त्रणमा लिएका हौँ ।’
प्रहरीले मोबाइललाई अनुसन्धानका लागि फरेन्सीक ल्याबमा पठाएको छ । ल्याबमा परीक्षणपछि थप रहस्य खुल्नेमा प्रहरी आशावादी छ ।
मृतक मायाका परिवारले पनि कोलीविरुद्ध किटानी जाहेरी दिएको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रवक्ता शाहीले बताए । बैतडी प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा अभियुक्त कोलीलाई महेन्द्रनगर बसपार्कबाट पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कोली भागेर भारततर्फ जान लागेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको हुलियाको आधारमा पक्राउ गरिएको थियो ।
बैतडीका प्रहरी प्रवक्ता शाहीका अनुसार अहिले अभियुक्त कोलीलाई कञ्चनपुरबाट बैतडी ल्याइँदैछ, उनलाई ल्याएर अनुसन्धान गरेपछि घटनाबारे थप तथ्य खुल्नेछ ।
मायाकी भदैनी १५ वर्षीया नेहा पनि घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन् । गम्भीर घाइते नेहाको अहिले डडेल्धुरामा उपचार भइरहेको प्रवक्ता शाहीले बताए ।
कसरी भयो हत्या
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुईजना साथीसँग गएको मंगलबार विहान घरबाट लुगा सिलाउन पञ्चेश्वर गाउँपालिका–३ कुलाउतर्फ गएका थिए ।
करिब डेढ घण्टाको दूरीमा रहेको लुगा सिलाउने ठाउँबाट उनीहरूसँगै गएका अन्य २ जना साथीहरू फर्किए, तर नेहा र माया भने फर्किएनन् । कुलाउमा इष्टमित्र बस्ने भएकाले उनीहरू त्यहीँ बसेको परिवारका सदस्यहरूले अनुमान गरे । तर, उनीहरू दोस्रो दिन बिहानसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी थालेको थियो । आफन्तसँग पनि खोजी गरे तर उनीहरू फेला परेनन् ।
त्यसपछि परिवारका सदस्यले गाउँलेहरूसमेतको सहयोगमा माया र नेहाको खोजी थालेको थियो । नेहालाई बुधवार दिउँसो गोठालोले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगामा फेला पारेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे ।
मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको प्रवक्ता प्रेम शाहीले लोकान्तरलाई बताए । शाहीका अनुसार मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत थिए । घाइते नेहाको अहिले उपचार भइरहेको छ ।