०५ साउन २०८३, मंगलबार

निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छः निर्वाचन आयोग

मंसिर १८, २०७९
निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छः निर्वाचन आयोग

निर्वाचन आयोगले पूर्णरूपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । आयोगले आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा कानूनले स्पष्टरूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पारे । उनले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरूको टुंगो लागिसकेपछि मतहरुको हिसाब गरेर दलहरूलाई पत्र लेख्ने र दलहरुले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूचीभित्रबाट सांसदको नाम पेश गर्नुपर्ने उल्लेख गरे । 

उनले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताए । 

सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेश गर्ने बताए । उनले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने स्पष्ट पारे । 

‘आयोगले वस्तुनिष्ठ योजना बनाएको थियो । ४ गते वस्तुनिष्ठ रुपमा देशभर निर्वाचन सम्पन्न हुन्छ । १३ गतेसम्म नतिजा निकाल्छौँ, १४ गते दललाई पत्र लेख्छौँ समानुपातिकको लागि र २२ गतेसम्म टुग्याउने भनेका थियौँ । सबैकुरा योजना अनुसार नहुने रहेछ, कतै विवादहरु, भए, कतै मत गणनामा विवाद भए, मतका प्रकृतिमा पनि विवाद आयो । समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको मानिँदैन । समानुपातिकमा उम्मेदवार भनेका दल हुन्’, अर्यालले भने, ‘कुनै पनि उम्मेदवारको एक मत बाँकी रहँदासम्म निर्वाचन अधिकृतले नतिजा घोषणा गर्न सक्दैन । सबै निर्वाचन क्षेत्रबाट दलले प्राप्त गर्ने मत यकिन भइसकेपछि हामीले सूत्र प्रयोग गरेर कुन दलको भागमा कति सिट पर्छ टुंग्याउँछौँ । आयोगले चाहेर मात्रै नहुने कुराहरु पनि छन् । केही प्रक्रिया लम्बिन सक्छ । हामीले २६÷२७ गतेसम्म वा २८ गतेसम्म हामीले राष्ट्रपति समक्ष पुर्‍याउन सक्नेछौँ ।’

salt training

कमेन्ट गर्नुहोस्