
रुपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित वासुदेव घिमिरेले कञ्चन गाउँपालिका वडा नं. २ कञ्चनचोकमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । नागरिकसँगको भेटघाट तथा गुनासा र समस्याको बारेमा जानकारी लिएर त्यसको समाधानमा सहजीकरण गर्न सहयोग पुग्ने उद्देश्यले संघीय सांसद घिमिरेले सम्पर्क कार्यालय स्थापना गरेका हुन् ।
सम्पर्क कार्यालय रामापुर—लुम्बिनी सडकको कञ्चन नदी पुल नजिकै रहेको छ । आइतबार सम्पर्क कार्यालयको शुभारम्भ गर्दै सांसद घिमिरेले सम्पर्क कार्यालय सञ्चालनले नागरिकका समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
स्थानीय, प्रदेश र संघीय सरकारसँगको सहकार्य र समन्वयबाट विकास निर्माणका काम र नागरिकका समस्या समाधान गरिने बताउँदै उनले क्षेत्र नं. ५ को योजनाबद्ध, व्यवस्थित विकासमा राजनीतिक दल, विकास साझेदार संघ—संस्थालगायत सम्पूर्ण नागरिकको यथेष्ट सहयोग रहने विश्वास व्यक्त गरे ।
तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका नेकपा एमालेका नेता घिमिरे मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता भरत शाहलाई ९ हजार ७८२ मतान्तरले हराउँदै विजयी भएका हुन । यस पटकको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमाले समानुपातिक निर्वाचन प्रणालीमा पनि पहिलो बनेको छ ।