
झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ ।
शिवसताक्षी नगरपालिका–९ को कन्काई नदीको तटमा रहेको दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्नेको लर्को लाग्न थालेको छ ।
प्रदेश १ को प्रमुख मध्येको पर्यटकीय गन्तव्य रहेको यस स्थानमा धमाधम पूर्वाधार निर्माण थपिएसँगै पर्यटकको थप रोजाइमा परेको छ । दोमुखा पर्यटन विकास समितिका अनुसार हिउँदयाम शुरू भएसँगै दर्जनौं वनभोज टोली आउने गरेका छन् ।
समितिका उपाध्यक्ष रमेश तिम्सिनाका अनुसार वनभोजको सिजनमा यहाँ दैनिक १ हजारभन्दा बढी पर्यटक आउने गरेका छन् ।
पर्यटकीय क्षेत्र दोमुखालाई नै लक्षित गरी यहाँ शिवसताक्षी नगरपालिकाले नगरकै सबैभन्दा बढी बजेट यहाँ विनियोजन गरेको छ । नगर प्रमुख रोशन थोप्राका अनुसार दोमुखालाई नै लक्षित गरी ६ करोड विनियोजन गरिएको छ । सोमध्ये ५ करोडको लागतमा करीब ३ किलोमिटर सडक कालोपत्रे हुँदैछ ।
पूर्वपश्चिम राजमार्गको माईधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको २ किलोमिटर ९०० मिटर सडक कालोपत्रे हुँदैछ । यसका लागि ५ करोड छुट्याइएको छ । यसका लागि बोलपत्र आह्वान भइसकेको छ । यो सडक कालोपत्रे भएपछि पूर्वी नेपालका साथै सीमावर्ती भारतका पर्यटक समेत थप आउने अपेक्षा गरिएको छ ।
दोमुखा पर्यटकीय क्षेत्रमा वालउद्यान र संग्रहालय समेत निर्माणाधीन छ । निर्माणाधीन बाल उद्यानका लागि स्वीमिङ पुल निर्माणका लागि नगरपालिकाले ४५ लाख छुट्याएको छ ।
यसैगरी दोमुखामा पर्यटकको थप आकर्षणका लागि बहुसांस्कृतिक संग्रहालय समेत बनिरहेको छ । सोही संग्रहालयका लागि थप १० लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । कन्काई नदीबाट नहर शुरूआत गरी बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौं नेपाली चलचित्र तथा म्युजिक भिडियो समेत छायांकन भएका छन् । यो स्थानमा पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बंगाल, सिक्किम, बिहार लगायतका स्थानबाट समेत पर्यटक आउने गरेका छन् ।