
नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज छुट्टाछुट्टै भेट गरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई आज साँझ उनको निवास बालकोट भक्तपुर र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग आज बिहान उनको निवास खुमलटारमा भेट गरेको थियो ।
सो अवसरमा शीर्षनेताहरूसमक्ष प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह ग¥यो । महासङ्घ यतिखेर ‘अर्थतन्त्र जोगाऔँ’अभियानमा छ ।
शीर्षस्थ नेतृत्वसँगको भेटवार्तामा महासङ्घका अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझिदिन आग्रह गरे । राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै सङ्कुचित हुँदै गएकातर्फ ध्यानाकर्षण गराउका थिए ।
सो अवसरमा एमालेका अध्यक्ष ओलीले अर्थतन्त्र संवेदनशील अवस्थामा रहेकातर्फ आफू पनि चिन्तित रहेको बताए । महासङ्घले राखेका सबै सुुझावहरू जायज रहेका र तीनको सम्बोधन गर्न आफ्नो पार्टीले पूरा सहयोग गर्ने प्रतिबद्धता पनि जनाउए ।
माओवादीका अध्यक्ष दाहालले देशको आर्थिक अवस्थालाई कसरी माथि लैजान सकिन्छ र अहिलेको समस्या समाधान गर्न सकिन्छ भन्ने बारेमा आफू गम्भीर रहेको बताए । रासस