०६ असार २०८३, शनिबार

अनअधिकृत संरचना भत्काउन रास्वपाको भारत सरकारसँग माग

मंसिर २०, २०७९
अनअधिकृत संरचना भत्काउन रास्वपाको भारत सरकारसँग माग

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नदीको बहाव परिवर्तन हुनेगरी महाकाली नदीमा निर्माण भएको पक्की संरचना तत्काल भत्काउन माग गरेको छ । सो दलले सोमबार विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । 

महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ भन्दै सो दलले विज्ञप्तिमा लेखेको छ, “अन्तर्राष्ट्रिय सन्धी सम्झौता, भारतसँगको हाम्रो दुई पक्षीय सन्धी सम्झौताहरु बिपरित कार्य भइरहँदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैर जिम्मेवार कार्य हो ।”

सो दलका प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तिमार्फत रास्वपाले नेपाली नागरिकहरुको सुरक्षा, राष्ट्रियताको मुद्दा र राष्ट्रहितप्रति आफ्नो दल सदैव सजग रहेको उल्लेख गरेको छ । 

“नेपाली भूमिमा अनअधिकृत संरचना बन्दासमेत नागरिकको जीवन रक्षाका लागि केही नबोल्ने संस्कारले हाम्रो राष्ट्रियता कमजोर हुने गम्भीर जोखिम देखिन्छ, स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिरहँदा ठूलो दुर्घटनाको जोखिम बढाएको छ” सो दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । समस्या समाधानका लागि यथाशीघ्र कुटनीतिक पहल लिन पनि सो दलले सरकारसँग माग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्