बुटवल उपमहानगरपालिकाले जग्गाको कित्ताकाट गर्ने बाटो खुला गरेको छ । उपमहानगरको सोमबार बसेको कार्यपालिका बैठकले सो निर्णय गर्दै जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन पनि स्वीकृत गरेको छ ।
स्थानीय भूउपयोग परिषद्को निर्णयलाई कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए । बैठकले वडा नं १ देखि १३ र वडा नं १९ का जग्गालाई गैरकृषि क्षेत्र कायम गर्ने निर्णय पनि गरेको उनले बताए ।
कृषि क्षेत्र कायम राख्न इच्छुक स्थानीयलाई पुनर्विचारका लागि निवेदन पेश गर्न आह्वान गर्दा कुनै पनि निवेदन नपरेको रानाको भनाइ छ । त्यही कारण वडा नं १९ लाई पनि गैरकृषि क्षेत्र कायम गर्ने निर्णय भएको उनले बताए ।
यसैबीच, वडा नं १४ देखि १७ भित्रका ५४ जना जग्गाधनीले कृषिक्षेत्र कायम राख्न दिएको निवेदनअनुसार कृषि क्षेत्र कायम राख्ने निर्णय कार्यपालिकाले गरेको प्रवक्ता रानाको भनाइ छ । त्यस्तै, वडा नं १४, १६ र १८ का ९५ वटा सडकका दायाँबायाँ सय मिटरमा पर्ने जग्गाहरु गैरकृषि क्षेत्र कायम गरिएका छन् ।
भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलका अनुसार वडा नं १४ देखि १७ सम्मका ५४ जनाले मात्रै आफ्ना जग्गा कृषि क्षेत्र कायम राख्न निवेदन दर्ता गराएका छन् ।
बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भूउपयोग परिषद्को जग्गा वर्गीकरणको काम अघि बढाउने निर्णय भएको छ । २०७९ साउन १८ गते सार्वजनिक सूचना प्रकाशन गरी जिल्लास्थित नापी र मालपोत कार्यालयलाई प्रतिवेदनमाथि राय, प्रतिक्रिया लिएर भूउपयोग परिषदबाट निर्णय गरी कार्यपालिका मार्फत निर्णय गरिएको पन्थीले बताए ।
स्वीकृत प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको विवरण नापी विभाग, प्रदेश भूउपयोग परिषद् र संघीय भूउपयोग परिषद्मा पठाउने पन्थीले जानकारी दिए । स्थानीय तहले भू–उपयोग परिषद् खडा गरी त्यसकै निर्णयका आधारमा जग्गाको विशेषताअनुसार १० वर्गमा बाँड्न सकिने भूउपयोग नियमावली २०७९ मा उल्लेख छ ।
जग्गाको वर्गीकरण गरी कित्ताकाट खोल्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसअघि निर्देशन दिएको थियो । सोही प्रक्रिया पूरा गरी उपमहानगरले सो निर्णय गरेको जनाएको छ ।