
लागूऔषध मुद्दामा १ वर्ष कैद फैसला भई फरार रहेका व्यक्ति ४ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका–१० निवासी पुन्नेप्रसाद चौधरी हुन् ।
२०७५ जेठ २६ गते राति करीब सवा ८ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटीमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनी लागूऔषधसहित पक्राउ परेका थिए ।
भारत सुनौली बजार गई १ हजार २०० रुपैयाँको १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउन सुगर किनी ल्याउँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
त्यसपछि लागूऔषध मुद्दा दर्ता गरिएकोमा अनुसन्धानपश्चात जिल्ला अदालत रुपन्देहीको थुनछेक आदेशले १० हजार रुपैयाँ धरौटी माग भएकोमा धरौट जम्मा गरेपश्चात रिहा भएका थिए । त्यसपछि जिल्ला अदालत रुपन्देहीको २०७५ मंसिर २६ गतेको फैसलाले १ वर्ष कैद फैसला भएकोमा उनी फरार थिए ।
फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको प्रहरी निरीक्षक सहितको टोलीले खोजतलास गर्दा पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।