
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं मधेशका प्रभावशाली नेता रामकुमार शर्माले सरकारको नेतृत्व गर्ने अवसर नपाए प्रतिपक्षमा बस्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।
कांग्रेसको पुच्छर बनेर सरकारमा सहभागी हुनु गल्ती हुने उनले बताए ।
मंगलवार खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटमा नेता शर्माले सरकारको नेतृत्वका लागि शुभकामना दिए । ‘गठबन्धनमा यसअघि भएको भद्र सहमति अनुसार प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्नुस्, त्यो भएन भने सदन र सडकबाट संघर्ष गर्नुपर्छ,’ शर्माले भनेका थिए । जवाफमा प्रचण्डले ‘तपाईको सुझाव राम्रो छ’ भनेका थिए ।
प्रचण्डकै कारण देउवाले चौथो र पाँचौंपटक प्रधानमन्त्री बन्ने अवसर पाएको भन्दै शर्माले यसपटक माओवादीले सरकारको नेतृत्व पाउनुपर्ने बताए । ‘माओवादीले ३२ सिट जितेको छ, माधव नेपालको पार्टी, उपेन्द्र यादवको पार्टी र प्रभू साह सहितका स्वतन्त्र सांसद गर्दा हामो पक्षमा ५५ भन्दा बढी हुन्छ, यो शक्ति सरकारको नेतृत्व दाबी गर्न पर्याप्त छ,’ शर्माले भने ।