१२ असार २०८३, शुक्रबार

किम्फमा बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा मुख्य वक्ता रहने

मंसिर २०, २०७९
किम्फमा बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा मुख्य वक्ता रहने

अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा प्रमुख वक्ताको रूपमा आउने भएका छन् ।

आयोजक हिमाल एशोसिएसनले महोत्सवमा निर्देशक झा मुख्य वक्ताको रूपमा सहभागी हुने जानकारी विज्ञप्तिमार्फत गराएको छ । झा अभिनित तथा एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदैछ । काठमाडौं महानगरपालिकाको सह–आयोजनमा किम्फको बीसौं संस्करण मंसिर २२ देखि २६ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको प्रेक्षालयमा हुने जनाएको छ ।

सन् २००० देखि शुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन् । यसपटकको संस्करणमा ३० मुलुकका ६० वटा भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन् ।
कोभिड महामारीको कारण किम्फका अठारौँ र उन्नाइसौँ संस्करण भर्चुअल माध्यममार्फत भएको थियो । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म देखाइनेछन् । यस वर्ष किम्फको मूल नारा दिगो आरोहण रहेको छ ।

किम्फ २०२२ को शुभारम्भ ‘हेर्ने कथा’ शृंखलाअन्तर्गतको फिल्म ‘बाघको बङ्गारा’ प्रिमियरसँगै हुनेछ । यस फिल्मले जाजरकोटका स्थानीयले गर्ने मह शिकारको कथा पेश गर्छ ।

फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’सँगै हुनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रूपैयाँ पुरस्कारस्वरूप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार नगद पुरस्कार दिइनेछ ।
 
इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत ५० हजार पाउनेछ । 

चलचित्रकर्मी, चलचित्रप्रेमी दर्शक, समीक्षक, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितिमा हुने उक्त महोत्सवमा फिल्म सम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनी हुनेछन् । किम्फ २०२२ को जुरीमा जर्मन लेखक/निर्देशक/निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक/निर्माता तथा इनससेन्ट रेन स्टुडियोको संस्थापक तथा सहायक कार्यकारी प्रमुख किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली छन् ।

salt training

कमेन्ट गर्नुहोस्