
नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेबाट सिक्नुपर्ने बताएका छन् । मंगलवार काठमाडौंको तिनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको दाबी गरे । उनले मनाङेको कामबाट सबैले सिकेर अघि बढ्नुपर्ने बताए ।
महासचिव भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने तर्कसमेत गरे । गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको भन्दै उनले अब भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने बताए । त्यस अवसरमा उनले मनाङेले वर्तमानमा सिक्न लायक काम गरेको र भविष्यमा पनि राम्रो काम गर्दै जाने विश्वास व्यक्त गरे ।
‘उहाँको विगतलाई लिएर कतिपय टिप्पणीहरू गर्ने गरिएको पाईन्छ । तर, हामीले के बुझ्नुपर्छ भने मान्छे–मान्छे नै हो, जसले राम्रो काम पनि गर्छ । कहिलेकाँही काम गर्दै जाँदा गल्ती पनि गर्छ । मान्छेलाई, मान्छेको इतिहासलाई विगतको आँखाले मात्रै हेर्न हुँदैन । विगत, वर्तमान र भविष्य सबै हुन्छ हाम्रा अगाडि । त्यसैले विगतमा के थियो भन्ने कुरा भन्दा पनि वर्तमानमा के छ भनेर हेर्नुपर्ने पर्छ । भविष्यमा कता जाँदैछ भनेर हेर्नुपर्छ । राजीवजीले आफ्नो विगतलाई बदलेर जसरी जनसेवाको भावनाले राजनीति गर्छु, अगाडि बढ्छु भन्ने प्रतिबद्धताका साथ अगाडि बढ्नुभएको छ’, महासचिव भुसालले भने, ‘त्यसलाई सकारात्मक ढंगले लिनु पर्दछ । र, समाजमा भएको अरु पनि विगतमा कहिलेकाँही बाटो बिराएर समाजले नरुचाउने खालका कामहरु गर्ने व्यक्तिहरु पनि हुनुहुन्छ भने उहाँले जसरी अहिले नयाँ ढंगले अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ । एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नुभएको छ । त्यसबाट सिक्नु पर्छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।’
कार्यक्रममा बोल्दै मनाङेले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने र त्यसमा आफू पर्ने भएकाले कसैले पनि मन्त्रीका लागि आफूलाई सिफारिस गर्नु नपर्ने दाबी गरे । उनले युवा तथा खेलकुद मन्त्रीको रूपमा आफूले गण्डकी प्रदेशमा अरु प्रदेशले भन्दा धेरै काम गरेको जिकीरसमेत गरे । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गराउन आफूले मन्त्रीको रूपमा महत्वपूर्ण निर्वाह गरेको उनको दाबी थियो ।
मनाङ प्रदेश २ का स्वतन्त्र सांसद समेत रहेका गुरुङ सोमवार नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।