काठमाडौं, २९ साउन – यता काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा महोत्सव भइरहेको छ । यतिबेला भने तराईमा बाढीपहिरोले पारेको विपद्ले यता गाईजात्रा देखाएर दर्शक हँसाउने हास्य कलाकार पनि सहयोगमा जुटेका छन् ।


भारतले निर्माण गरेको कोशी ब्यारेज बाँधका कारण वर्षेनी आउने बाढीले तराईवासीलाई समस्यामा पार्ने गरेको छ । तराई डुबानमा परिरहँदा नेपालीले सहयोगका लागि ऐक्यवद्धता देखाएका छन् ।
यतिबेला गाईजात्रामा जुटेका कलाकारले सामाजिक सञ्जालमार्फत सहयोगमा जुट्न आग्रह गरेका छन् भने कतिपय कलाकारले समाजिक सञ्जालमार्फत सरकारप्रति आक्रोश पोखेका छन् ।
अभिनेत्री करिश्मा मानन्धरले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘नेताज्यूहरुले विगतमा गरेका सन्धीहरू केका आधारमा गरेका होलान् ? उहाँहरुको दूरदर्शीता देखेर लाज लागेर आयो ।’ उनले लेखेकी छिन्, ‘हाम्रोजस्तो भू–संरचना भएको मुलुकले गर्ने सन्धी यस्तो आत्मघाती किसिमको कसरी गर्न सकेको?’
त्यस्तै अभिनेता आर्यन सिग्देलले आफ्नो फेसबुक पेजमार्फत युवालाई सहयोगका लागि जुट्न आग्रह गरेका छन् । ‘बाढीले गाँस, बास र कपास बगाएको छ, धेरैले आफन्त गुमाएका छन्, देश नै शोकमा छ ।’ उनले लेखेका छन्, ‘नेता र सरकारप्रति आ–आफ्नै किसिमको आक्रोश छ, यतिबेला आरोप र प्रत्यारोप भन्दा पनि सबैले आ–आफ्नो किसिमले सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ ।’
सिग्देलले आफ्नो स्टाटसमा बाढी प्रभावित आमा बुबा, बालबालिका, वृद्ध, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्तिलाई युवाको सहयोग चाहिएकाले सहयोगमा जुट्न पनि आग्रह गरेका छन् ।
त्यस्तै निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले बाढीपीडितको सहयोगका लागि व्यक्तिगत रुपमा ५१ हजार रुपैयाँ सहयोग गर्ने भएकी छिन् । उनले बाढी प्रभावित क्षेत्रमा राहत पुगोस् भनेरआफूले सहयोग गरेको बताइन् ।
निरौलाले सबैलाईसहयोगमा जुट्नका लागि पनि आग्रह गरेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘पूर्व डुबेको देख्दा आफै डुबेको महसुस भइरहेको छ ।’
गैंडाको परिचय बनाएका हास्य कलाकार निर्मल शर्माले फेसबुकमार्फत सबैलाई जलमग्न पूर्व र तराईको उद्धारका लागि जुट्न अनुरोध गरेका छन् । ‘आफ्नो क्षमता अनुसार सहयोग गरौं, मैले दश हजारबाट शुरु गर्छु ।’ उनले आग्रह गरेका छन्, ‘प्रकोपका बेला जे सकिन्छ सहयोगमा लाग्न अनुरोध गर्दछु । विदेश अवार्ड आयोजकहरु पनि कुनै माध्यमबाट यो दुखमा सहयोगको हात बढाउन अनुरोध गर्दछु ।’
तराई डुबिरहेका बेला हास्य कलाकार सीताराम कट्टेलले पनि सामाजिक सञ्जालमार्फत सबैलाई सहयोगमा जुट्न आग्रह गरेका छन् । सीताराम कट्टेलले सहकार्य गर्न चाहनेका लागि धुर्मुस सुन्तली फाउन्डेसनको कार्यलयमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।
अर्का हास्य कलाकार मनोज गजुरेलले पनि फेसबूकबाटै बीस हजार रकम बाढीपीडितका लागि छुट्याएको बताएका छन् । ‘हामीले अहिलेलाई जम्मा बीस हजार विपद पीडितलाई उपलब्ध गराउने घोषणा गरेका छौं ।’ उनले फेसबुकमार्फत लेखेका छन्, ‘मैले त खर्च कटौती गरी सहयोगको सानो प्रयास थालें, सामूहिक अभियान शुरु गर्ने कि?’
गजुरेलले सहयोगलाई दया नभएर नागरिक कर्तव्यको रुपमा बुझ्न समेत आग्रह गरेका छन् ।
अन्य कलाकारले पनि सामाजिक सञ्जालमार्फत तराईमा भएको विपदको साथ दिएका छन् । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यङ्ग्य गर्दै लेखेका छन्, ‘विहारी भाइ और बेहेनो, तुमलोग चिन्ता मत करो, हमने बाढको रोक दिया है ।’
सामाजिक सञ्जालबाटै अभिनेत्री रेखा थापाले डुबान क्षेत्रमा परेका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उद्धारमा जुट्न सरकारलाई आग्रह गरेकी छिन् ।