
बाँके जिल्लामा माटोको उर्वरा शक्ति क्रमिकरूपमा ह्रास हुँदै गएको एक अध्ययनले देखाएको छ ।
माटो तथा मल परीक्षण कार्यशाला खजुराले माटोको उर्वरा शक्ति खस्किँदै गएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रयोगशालाका प्रमुख तथा बाली संरक्षण अधिकृत कमल शाहीका अनुसार नेपालमा पहिलोपटक ३२ वर्षअघि ५५ जिल्लामा माटो सर्भे भएको थियो । पछि साविक ७५ वटै जिल्लामा माटो परीक्षण गर्दा उर्वरा शक्ति ह्रास, प्रांगारिक पदार्थ घटिरहेको र माटो अम्लीय वा क्षारीय बन्दै गएको छ । उनले नेपालमा माटोको उर्वरा शक्तिको स्थिति हेर्दा हिमाल, पहाडभन्दा तराई–मधेशको माटोको उर्वरा शक्ति कमजोर देखिएको बताए ।
माटो निर्देशनालयको प्रतिवेदनअनुसार सबैभन्दा बढी तराई र मधेशका ८ जिल्लामा धेरै माटोको उर्वरा शक्ति ह्रास भएको छ । तीमध्ये बाँके जिल्ला पनि एक हो ।
प्रयोगशालाले बाँकेमा आर्थिक वर्ष २०७७/ ७८ र २०७८/७९ मा कूल ९४९ वटा माटोको नमूना जाँच गरेको थियो । तीमध्ये २२१ नमूनामा अम्लियपना, ३४७ नमूनामा तटस्थता र ३८१ नमूनामा क्षारीयपना देखिएको प्रयोगशालाले जनाएको छ ।
तीमध्ये बाँकेमा सबैभन्दा धेरै ४० प्रतिशत माटोमा क्षारीयपना रहेको छ भने २३ प्रतिशत माटोमा अम्लियपना र ३७ प्रतिशत माटो तटस्थ अवस्थामा रहेको छ । बाँकेको माटोको प्रांगारिक पदार्थ जाँच र विश्लेषण गर्दा ९५ प्रतिशत माटोमा प्रांगारिक पदार्थ नरहेको पाइएको छ ।
माटोको उर्वरा शक्ति बढाउन कृषकलाई गोठेमल उत्पादनमा जोड, चुना तथा जिप्समको प्रयोग र भकारो सुधार कार्यक्रमको निरन्तरता तथा नियमित माटो जाँच गर्ने लगायतका प्रयास भइरहेको बाली संरक्षण अधिकृत शाहीले बताए ।