
प्याज आयातमा सरकारले बर्सेनि करीब ५ अर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बंगलादेश लगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ ।
तीमध्ये सबैभन्दा बढी प्याज नेपालले भारतबाट आयात गर्दछ । भारतबाट मात्रै करीब ९० प्रतिशत प्याज नेपाल आउने गरेको जनाएको छ ।
कोरोना महामारीको समयमा भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको अभाव चर्किएको थियो । स्वदेशमै प्याज उत्पादन गरी आयातमा रोक लगाउन कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुदान कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले प्याजको बीउमा ५० प्रतिशत अनुदान दिएर नगरभित्रका सबै कृषकलाई वितरण गर्न थालेको छ ।
प्याजको आयात रोक्न र नगरमै कृषकलाई आत्मनिर्भर बनाउन प्याजमा अनुदान दिइएको नगरपालिकाका प्रमुख हेमराज ओझाले बताए । उनले प्याजलाई व्यावसायिकीकरण गरी कृषकलाई स्वरोजगार दिलाउन पनि बीउ वितरण गरिरहेको बताए । ‘अहिले हामीले बीउ मात्रै अनुदानमा वितरण गरेका छौं,’ उनले भने, ‘आगामी वर्षदेखि यसलाई बृहत् रूपमा व्यावसायिकीकरण गर्न खोजिरहेका छौं । जसमा कृषकले समूह बनाए थप अनुदान पाउनुहुनेछ ।’
उनले अनुदानमा बीउ लगेर आफू खानलाई मात्रै नभई व्यावसायिकीकरण गरी आयआर्जनका लागि पनि उमार्न कृषकलाई आग्रह गरे । ‘नगरलाई प्याजमा आत्मनिर्भर बनाउन त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाए मात्रै सम्भव छ,’ उनले भने, ‘त्यसैले आफ्नो आर्थिक स्रोत पनि बनाउने किसिमले प्याजको उत्पादन गर्नुहोला, व्यावसायिकरूपमा भए भोलिका दिनमा थप अनुदानका कार्यक्रम प्राप्त गर्न सक्नुहुनेछ ।’
उनले नगरपालिकाले प्याजसहित च्याउ, गहुँ, धान लगायतका कृषि उत्पादनका लागि पनि अनुदान दिएको बताए ।
नगरपालिकाले प्याजको आयातमा कमी ल्याउन अनुदानमा बीउ वितरण गरिरहेकोे नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनले चालू आर्थिक वर्षमा मात्रै नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई ३ लाख रुपैयाँको बीउ वितरण गरेको बताए । ‘प्याजको परनिर्भरतामा कमी ल्याउन हामीले बीउ वितरण गरिरहेका छौं,’ उनले भने, ‘नगरबाट चालू आर्थिक वर्षमा मात्रै नगरपालिकाको १ लाख ५० हजार र सोहीअनुसार कृषकको गरी ३ लाख रुपैयाँ बराबरको बीउ वितरण गर्नेछौं ।’