
अमेरिकी सांसदहरूले सन् २०२३ का लागि देशको रक्षा खर्चमा वृद्धि गर्ने राष्ट्रपति जो बाइडनको प्रस्तावलाई स्वीकार गरेका छन् ।
बाइडनले अनुरोध गरेभन्दा ४५ अर्ब डलर बढी रकमको निकासामा उनीहरूले मञ्जूरी दिएका हुन् । त्यसका साथै उनीहरूले युक्रेनका लागि नयाँ सुरक्षा सहायता तथा ताइवानसँग थप सहकार्यसम्बन्धी प्रावधानलाई पनि स्वीकार गरेका छन् ।
लामो वार्तापछि अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनले नेसनल डिफेन्स अथोराइजेसन याक्टको अन्तिम मस्यौदा सार्वजनिक गरेका छन् । यसै साताको अन्त्यसम्ममा उक्त ऐनलाई तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा मतदानका लागि ल्याइने सम्भावना छ ।
यससँगै सन् २०२३ मा अमेरिकाको रक्षा बजेट ८५८ अर्ब डलर पुग्नेछ । बढ्दो महंगी तथा युक्रेनलाई हतियार पठाउँदा लागेको खर्चलाई समेट्न बजेट रकम बढाउनुपरेको बताइएको छ ।