
डेढ दशक अगाडिसम्म नेपाली फिल्मलाई हलमा प्रदर्शनको ५१औँ दिन मनाउन गाह्रो हुँदैनथ्यो । केही फिल्महरूले प्रदर्शनको ‘गौरवमय १००औँ दिन’ समेत मनाउँथे । तर, पछिल्ला केही वर्षयता भने नेपाली फिल्मलाई हलमा एक साता टिक्न समेत मुस्किल देखिँदै आएको छ । यद्यपि, अझै पनि एकाध फिल्मले प्रदर्शनको ५१ दिन भने मनाइरहेका छन् ।
कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ले प्रदर्शनको ५१औँ मनाउने देखिएको छ । यो फिल्म आज (बुधवार) प्रदर्शनको ४१ औँ दिनमा प्रदर्शनरत छ ।
रिलिज भएको दिनदेखि दर्शकको उत्साहजनक साथ पाएको फिल्मले चार सातामा नेपालमा १० करोड माथिको कमाई गरेपछि निर्माण टिमले केक काटेर खुशीयाली साटेको थियो ।
प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको ‘महापुरुष’मा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेललगायतको अभिनय छ ।
‘वर्ड अफ माउथ’ बलियो भएको र नयाँ आशावादी नेपाली फिल्म नभएका कारण ‘महापुरुष’ हलमा लामो समयसम्म टिकिरहन सफल भएको हो ।
राजधानीका थुप्रै हलमा अझै फिल्म राम्रै शोजका साथ प्रदर्शनरत छ । राजधानी बाहिरका हलहरूमा समेत फिल्म चलिरहेको छ । अमेरिका, अष्ट्रेलियामा समेत फिल्मले राम्रो व्यापार गरेको छ ।
प्रदीप भट्टराईका यसअघिका सबै फिल्मले हलमा ५१औँ दिन मनाएका थिए । ‘जात्रा’, ‘शत्रुगते’, ‘जात्रै जात्रा’पछि प्रदीपको ‘महापुरुष’ले पनि हलमा ५१औँ दिन मनाउने निश्चितजस्तै देखिएको हो ।