
पशु स्वास्थ्य शिविर सञ्चन गर्दा अधिकांश भैंसीमा खरी रोगको समस्या देखिएपछि निःशुल्क उपचारको व्यवस्था गरिएको छ । सिगास गाउँपालिका –१, को वडा कार्यालय र स्थानीय सामुदायिक सिकाइ केन्द्रको समन्वयमा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीले स्वास्थ्य शिविरको आयोजना गरी पशुको उपचारको व्यवस्था गरेका हुन् ।
दुई दिन सञ्चालन भएको पशु स्वास्थ्य शिविरमा भैंसी पालन गर्ने किसान खरी रोगको समस्या लिएर शिविरमा आएको केन्द्र पाटनका प्रमुख पशु विकास अधिकृत गुमानीदत्त पन्तले बताए । रोग निदानका लागि औषधि वितरण र कडा खालका रोगका लागि घरमै गएर सुई लगाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।
पशु प्राविधिकहरु घरमै आएर भैंसी, बाख्रा, गाईमा देखापरेको रोगको उपचार निःशुल्क रुपमा गरिदिएपछि खुशी लागेको स्थानीय सरस्वती ऐरीले बताइन् । शिविरबाट करिब ११० जना किसानले पशु स्वास्थ्य सेवा लिएको केन्द्रले जनाएको छ । गाउँमा पहिलो पटक शिविर सञ्चालन भएको पनि उनले बताइन् ।
बजारबाट आफूखुशी औषधि किनेर पशुलाई खुवाउने प्रबृत्ति गाउँमा रहेकाले त्यसबाट धेरै पशु मर्ने गरेको स्थानीय किसान दानसिंह ऐरीले बताए । शिविर सञ्चालन भएपछि किसानलाई फाइदा भएको र रोग निदानको उपायबारे जानकारी पाएको उनको भनाइ छ ।
गाई र बाख्राभन्दा भैंसीमा खरी रोगको समस्या बढी देखिएको पशु विकास अधिकृत खडकसिंह भण्डारीले बताए । यो रोगका कारण बैतडीमा खड्डी जातका भैंसी समस्यामा परेको अवस्था देखिएको उनले भने । रोगको पूर्ण निदान गर्न समस्या भए पनि रोग लाग्नै नदिनेतर्फ किसानलाई सचेत गराएको उनले बताए । खरी रोगको संक्रमण दुधालु भैंसीमा बढी देखिएको उनको भनाइ छ । बैतडीमा देखिएको खरी रोगको निदानका लागि थप अनुसन्धान भइरहेको उनले बताए ।