३२ असार २०८३, बिहीबार

सरसर्ती २४ घण्टा : चोलेन्द्रले पत्र पाएपछि हंगामादेखि चुनावी नतिजा घोषणासम्म

मंसिर २२, २०७९
सरसर्ती २४ घण्टा : चोलेन्द्रले पत्र पाएपछि हंगामादेखि चुनावी नतिजा घोषणासम्म

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्क्रिय भएको भनी संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले पठाएको पत्रले हंगामा भएको छ ।  संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्क्रिय भएको पत्र दिएको थियो । 

पत्रपछि नेपाल बार एसोसिएसनले विरोध गरेको छ भने माओवादी केन्द्रसहित दलका नेताहरुले पनि विरोध गरेका छन् । यस्तै सर्वोच्च अदालतले पनि पत्र पठाउनुको कानुनी आधार देखाउन संसद सचिवालयलाई भनेको छ । 
पत्र पाएसँगै चोलेन्द्र सर्वोच्च फर्किने तयारीमा रहेपनि चौतर्फी असहयोग हुने देखिएपछि उनी निवासमै रोकिएका छन् । उनलाई सरकारले सर्वोच्च जाने सुरक्षासमेत उपलब्ध गराएको थिएन । 

संसद् सचिवालयले जबरालाई दिएको पत्रमा भनिएको छ, ‘महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेश, प्रारम्भिक छलफल र महाभियोग सिफारिश समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट पठाइएको सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले कार्यसम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु ।’
००००
जबरामाथि लगाइएको महाअभियोग निलम्बन फुकुवा गर्ने संसद सचिवालयको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले गैरकानूनी ढंगले क्षेत्राधिकार बाहिर गएर संसद सचिवालयका महासचिव डा भरतराज गौतमले पठाएको पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका हुन् । 
००००
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतका जबराविरुद्धको महाभियोग प्रस्तावबारे आगामी संसदमा छलफल हुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधवार मन्त्रालयमा आयोनित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका कार्कीले आगामी प्रतिनिधि सभामा छलफल हुने विषय जिवितै रहेको बताएका हुन् ।
००००
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) संख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई बुधबार पत्र पठाएइको छ । 
दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा र सातै वटा प्रदेश सभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसंख्या, प्रतिशत र सिट संख्या निर्धारण गरी कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व हुने गरी सिफारिस गर्न पत्र पठाइएको हो । थ्रेस होल्ट कटाउने दलले समावेशी समूह मिलाएर बन्दसूचीमा रहेकामध्येबाट नाम सिफारिस गर्नुपर्नेछ ।
००००
निर्वाचन आयोगले सबै मत परिणाम घोषणा गरेसँगै निर्वाचनबाट दलहरुको हैसियत निश्चित भएको छ । प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको छ । उसले ८९ सिट जितेको छ । यस्तै ११ सिट कम जित्दै एमाले दोस्रो दल बन्दा माओवादी केन्द्र ३२ सिटका साथ तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटका साथ चौथो र राप्रपा १४ सिटका साथ पाँचौ पार्टी बनेको छ । जसपा र जनमत पार्टी क्रमशः १२ र ६ सिटजित्दै छैटौँ र सातौँ दल बनेका छन् । 
यसैगरी राष्ट्रिय दल हुन नसकेका नेकपा एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले १ र नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभामा १ सिट जितेको छन् । यस्तै संसदमा स्वतन्त्रबाट चुनाव जितेका ५ जनाको पनि  प्रतिनिधित्व रहने भएको छ ।
००००
सीमित सिटमा तालमेलबाहेक सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको नेकपा एमाले तीन वटा प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको छ । प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो पार्टी बनेको हो । 
यस्तै संघमा दोस्रो ठूलो पार्टी बनेको एमालेले समानुपातिकतर्फ दलहरुमा सर्वाधिक मत पाएको छ । समानुपातिकतर्फ एमालेले २८ लाख ४५ हजार मत पाएको छ । जुन समग्रमा ठूलो दल बनेको नेपाली कांग्रेसले पाएको भन्दा पनि धेरै मत हो । नेपाली कांग्रेसले समानुपतिकतर्फ २७ लाख १५ हजार मत पाएको छ । कांग्रेस भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ठूलो पार्टी बनेको छ ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउँदै प्रधानमन्त्रीमा सभापति शेरबहादुर देउवाले भने दाबी छाड्नुपर्ने बताएका छन् । अहिले एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी सभापति देउवाले ठाउँ खाली गरेर अर्का महामन्त्री गगन थापालाई सघाउनुपर्ने शर्माको भनाइ छ । 

बुधबार बिर्तामोडमा प्रेस युनियन झापाले गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले  संसदीय दलको नेताको दाबी छोड्न देउवालालाई आग्रह गरेका हुन् ।
००००
एमालेले मंसिर २९ भित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले निर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।
००००
दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो ।

बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण गर्न लागेको ग्याबिन तटबन्ध तत्काल रोक्ने सहमति भएको छ । नेपालतर्फ मोडिएको नदीलाई पुनः आफ्नै धारमा फर्काइने सहमति भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनका अनुसार विवादित क्षेत्रमा तत्काल काम पनि सुरु नगर्ने सहमति बनेको छ ।
००००
पछिल्लो समय नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको छ । बुधवार पनि नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्