
जापानमा हालसालै एक नेपाली युवा म्यारियट जापान ककटेल कम्पिटिसनमा प्रथम भएका छन् । काठमाडौँ घर भएका अन्जान खड्काले १४९ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै जित हात पारेका हुन् ।
सन २०१० मा विद्यार्थी भिसामा जापान आएका अन्जानले यहाँ जापानी तथा अंग्रेजी भाषा विद्यालयको अध्ययन हुँदै, टोकियो ईन्स्टिच्युट अफ टुरिज्म कलेजबाट होटल म्यानेजमेन्टको अध्ययन पुरा गरेका छन् । अध्ययन सक्काएलगत्तै सन २०१६ बाट होटल हायातमा आफ्नो जागिर जिवनको सुरुवात गरेका थिए ।
हाल झण्डै ६ वर्षजस्तो होटल हायातमा काम गरिसकेपछि विश्वकै प्रसिद्ध होटल द रिट्ज कार्ल्टनमा उनी कार्यरत छन् । जापानमा वर्षेनी हज्जारौँ नेपाली विद्यार्थी पढ्ने सपना र योजना बोकेर आउने गरे पनि दीर्घकालिन् सोचसहित अघ्ययन पूरा गरी ठूला कम्पनीहरुका आकर्षक स्थानमा भने निकै कम नेपाली मात्रै पुग्नेगरेका छन् ।
हाल खड्का रिट्ज कार्ल्टनको निक्कोस्थित होटलमा द लाउन्ज एण्ड द बार एसिस्टेन्ट म्यानेजरको रुपमा कार्यरत छन् । यस पटकको प्रतियोगितामा बारटेन्डर अञ्जन खड्काको ककटेल कोमाचीको गार्डेन (कोमाची नो निवा) ले गत नोभेम्बर २९ तारिख टोकियोमा आयोजित म्यारियट जापान ककटेल प्रतियोगिताको फाइनलमा ग्रान्ड प्राइज जितेको थियो ।
प्रतियोगितामा जापानभरीका मेरियट होटेलहरूको प्रतिनिधित्व गर्ने प्रतिभाशाली मिक्सोलोजिस्टहरूले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा उत्कृष्ट बन्न सफल खड्काको च्याम्पियन ककटेलले सन् २०२३ भरी राष्ट्रव्यापी रिट्जकार्लटन, म्यारियट, वेस्टिन र शेराटन होटलहरूको मेनुमा स्थान पाउनेछ ।
यस पटक अन्जानले हात पारेको यो सफलता होटल क्षेत्रमा आफ्नो भविष्य देख्ने धेरै नेपाली युवाहरुको उत्प्रेरणा भएको बताइएको छ । लामो समयको कडा अध्ययन र कामप्रतिको लगनले मात्रै यो लक्ष हासिल गर्न सम्भव भएको उनले बताए ।