१३ असार २०८३, शनिबार

चितवनको दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

मंसिर २२, २०७९
चितवनको दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका –१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदा पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएनिन् । 

“फोन सम्पर्क नहुँदा मन आत्तिन्छ” उनले भनिन्, “यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।” भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् । 

कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमानसँग सहजरुपमा कुरा गर्न नपाएको गुनासो गरिन् । “सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ, गाउँमा गाडी आइपुग्दा पनि घरबाट मोबाइलमा कुरा गर्न पाइएको छैन” उनले भनिन् । 

इच्छाकामना गाउँपालिका –१ को चौकीडाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन । यस्तै हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताए । 

“मेरो वडाको एक दर्जन गाउँमा फोन सेवा छैन, उनले भने, “भएको ठाउँमा पनि नेटर्वक समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।” वडाको झण्डै तीन हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको उनले बताए । सो वडामा अधिकांश चेपाङ समुदायको बसोबास छ ।

नेटवर्कको समस्या सामाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको मगरले गुनासो गरे । “यसै त भौगोलिक रुपमा पछि परेको ठाउँ हो हाम्रो” मगरले थपे, “विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ ।”

आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताए । उनले भने, “मोबाइलको टावर जडानका लागि पटक–पटक आश्वासन दिइयो, तर कार्यान्वयन गरिएन ।” गाउँबाट चार सय बढीको हस्ताक्षर सङ्कलन गरेर टेलिकममा बुझाइएको उनले बताए ।  

दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाँउपालिका –१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताए । कार्यालयले पनि नेटवर्क नभएको ठाउँमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाउँलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिएको छ । अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने उनको भनाइ छ । 

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाको वडा १, २ र ७ नम्बर वडाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताए । वडा नम्बर २ को हुस्ती, माझखर्क, होरल्याङमा र तल्लो काउलेमा नेटवर्कको समस्या रहेको जानकारी दिए । यस्तै वडा नम्वर ७ को गर्दास, सुन्दरबस्ती पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्या रहेको बताए । पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उनले नेटवर्कको समस्या छिट्टै समाधान गरिने प्रतिवद्धता जनाए । रासस

salt training

कमेन्ट गर्नुहोस्