
शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताएका छन् । त्यसकालागि गुणस्तरयुक्त निर्माणमा जोड दिन उनले मातहतका निकायका प्रतिनिधिलाई निर्देशन दिए ।
नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा विहीबार यहाँ गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरु रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताए ।
भौतिक निर्माणका कामहरु गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको उनले बताए । जनतालाई सहज सेवा दिन निर्माणका कामहरु समयमै र गुणस्तरयुक्त बनाउन उनले निर्देशन दिए ।
भौतिक निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउने बारेमा सरकारले ध्यान दिने उनले बताए । सरकार र निर्माण व्यवसायीहरुको सहकार्यबिना भौतिक निर्माणका पूर्वाधारहरु निर्माण हुन नसक्ने उनले बताए ।