२३ असार २०८३, मंगलबार

यसवर्षको मानवअधिकार पुरस्कार संस्थातर्फ मानवसेवा आश्रमलाई

मंसिर २४, २०७९
यसवर्षको मानवअधिकार पुरस्कार संस्थातर्फ मानवसेवा आश्रमलाई

नेपाल सरकारले यसवर्षको मानवअधिकार पुरस्कार संस्थातर्फ मानवसेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल सरकारले मानवअधिकार विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार तथा अक्षयकोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान संरक्षण र सम्बद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने एक व्यक्ति र संस्थालाई  पुरस्कार दिने कार्य शुभारम्भ गरेको थियो । सोही क्रममा सरकारले यसवर्ष संस्थातर्फ आश्रमलाई पुरस्कार दिने निर्णय गरेको हो ।

यसवर्ष मानवअधिकार पुरस्कार प्रदान गर्न सार्वजनिक सूचनाअनुसार प्राप्त आवेदनको मुल्याङ्कन गरी  विज्ञको सिफारिसको आधारमा उक्त पुरस्कार दिने गरिएको कानून न्याय तथा संसदीय मामिलामन्त्रालयले जानकारी गराएको छ । 

‘मानवसेवा आश्रम (काठमाडौं) लाई सडकपेटी तथा अन्य सार्वजनिक स्थलहरूमा परित्यक्त, असहाय, असमर्थ, बेवारिसे रुपमा रही अत्यन्तै कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिहरूको उद्धार, उपचार परामर्श लापनपालन संरक्षण र त्यस्ता व्यक्तिको शव सद्गद तथा व्यवस्थापनलगायतका कार्य गरी मानव अधिकारको संरक्षणमा पुर्याएको योगदानका लागि मानवअधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ’, मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उलेख छ । 

विसं २०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म सडकबाट झण्डै ८ हजार मानिसको उद्धार गरिसकेको छ । झण्डै एक हजार व्यक्तिलाई उनकै परिवारमा पुनमिलन समेत गराइसकेको छ । हाल काठमाडौंलगायत १९ जिल्लामा रहेका २३ शाखा कार्यालयहरूबाट आश्रमले देशेभर भेटिएका सडकआश्रित मानवहरूको उद्धार गरी संरक्षण, उपचार तथा मनोविमर्श सेवा दिएर निको बनाइ परिवारमा पुनर्मिलन समेत गराउँदै आएको छ । परिवार फेला नपरेको खण्डमा उनीहरूलाई आश्रममा नै संरक्षण गर्दै आएको छ । यसरी आश्रममा अहिले पनि एक हजार ६०० व्यक्तिहरू आश्रित रहेको केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनले सडक पेटीहरूमा कोही पनि खाना, नाना र छानाको अभावमा न्यूनतम मानवअधिकारबाट बञ्चित हुन नपरोस् भनेर उनीहरूलाई उद्धार गर्दै संरक्षण गरिरहेको जानकारी दिए े । 

पछिल्लो समयमा नेपाल सरकारबाट समेत हातेमालो हुन थालेकाले सेवामा केही सहज भए पनि अझै अपुग र अभाव कायमै रहेको जानकारी दिँदै उनले तीनै तहका सरकार, आमनागरिक समाज, सङ्घसँस्थाहरूले साझा अभियानका रूपमा उनीहरूको व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता औँल्याए । 

यस्तै सरकारले लामो समयदेखि मानव अधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख, रचना प्रकाशन, प्रवद्र्धन पैरवी, संरक्षण र मानवअधिकार सम्मानसम्बन्धी कार्यमा निरन्तर रुपमा पुर्याएको योगदानको कदर गर्दै व्यक्तितर्फ काठमाडौंका प्राडा कपिलमान श्रेष्ठलाई पनि सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । उक्त पुरस्कारबाट सम्मानित व्यक्ति र संस्थालाई मन्त्रालयले बधाई तथा शुभकामना प्रकट पनि गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्