बजारमा अदुवाको माग घटेपछि किसानहरुले कम मूल्यमा अदुवा बिक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका –४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर रानाले बताए । “अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ” उनले भने ।
गत वर्ष अदुवाको माग नभएपछि बिक्री गरिएको थिएन । यस वर्ष पनि माग नआएको उनको भनाइ छ । “बारीमै कुहिनुभन्दा कम मूल्यमै बेच्न थालेका छौँ । विगत दुई वर्षदेखि धार्नीको रु दुई सयदेखि रु दुई सय ५० सम्ममा बिक्री गर्दै आएका थियौँ । यसपटक बढ्नुपर्ने बेलामा झन् घटेर बेच्न बाध्य छौँ । यस वर्ष धार्नीको रु एक सयमा बेच्दैछौँ” उनले भने, “लगानी नै उठ्दैन जस्तो छ यस पटक ।”
बीउबिजन महँगो मूल्यमा किन्नुपर्ने र बिक्री कम मूल्यमा गर्दा किसान मर्कामा परेको कृषक रानाले बताए । मुख्यतः अदुवाको खपत भारतीय बजारमा हुने र भारतबाट माग नआएपछि अदुवा बिक्रीमा समस्या भएको उनको भनाइ छ । “अदुवा बारीमै कुहिने, सुक्ने भएपछि निकाल्न थालिएको छ । अलि बढी पानी भएमा पनि कुहिने समस्या आउँछ” उनले भने ।
कृषक रानाले वार्षिकरूपमा सात सय धार्नी अदुवा उत्पादन गर्दैआएका छन् । यस पटक अलि कुहिएकाले छिटो निकालिएको उनले बताए । यो क्षेत्र अदुवा पकेट क्षेत्र हो । उक्त क्षेत्रका प्रत्येक किसानले एक सयदेखि नौ सय धार्नीसम्म अदुवा उत्पादन गर्ने गरेको उनले बताए । रजिडाँडाका मात्रै २५ घरधुरीले अदुवा उत्पादन गर्दै आएका छन् ।
सो स्थानका कृषकले समूह बनाएर अदुवा खेती गर्दैआएका छन् । गत वर्ष उत्पादन गरिएको बीउ शुक्लागण्डकी नगरपालिकाका लागि अदुवाको बीउ निर्यात गरिएको उनले बताए । बिक्री नभएका अदुवाको सुठो बनाएर बिक्रीका लागि बजारमा पठाइने कृषक रानाले बताए । माघ र फागुनसम्म अदुवा निकाल्न मिल्ने र चैतमा बीउ रोपण गर्ने समय भएको रानाको भनाइ छ ।
भिमाद साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण खनालले अदुवा प्रशोधन बिक्रीका लागि बजार खोजी गर्ने काम भइरहेको बताए । गत वर्ष करिब २८ मेट्रिक टन बुटवलको प्रशोधन केन्द्रमा प्रशोधन गरी बिक्रीका लागि तयार रहेको उनको भनाइ छ । गत वर्ष प्रतिकेजी रु ४० मा खरिद गरी प्रशोधन केन्द्रमा लगिएको उनले जानकारी दिए ।
“किसानले उत्पादन गरेका अदुवा भारतीय बजारमा नै बिक्री हुने हो । कम अदुवा बिक्रीका लागि लैजाने हुँदैन । धेरै उत्पादन छैन यसले गर्दा बजारको समस्या भएको हो” अध्यक्ष खनालले भने, “केही अदुवा भने यहीको बजारमा खपत हुन्छ ।”
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले कृषकले उत्पादन गरेको वस्तुको बजार सिर्जना गर्ने कार्यमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताए । तीन तहको सरकारले बजारको व्यवस्थापन गर्न भूमिका खेलेमा कृषि प्रधान देशको भनाइलाई सार्थक बनाउन सकिने उनको तर्क छ ।
“विश्वमा पूर्णरूपमा आयातित वस्तु उपभोग गर्ने देश छन् । ती देशसँग समन्वय, सहकार्य गरी व्यापारिक सम्बन्ध कायम गरी देशको आर्थिक समृद्धिलाई प्रमुख बनाउने भूमिकामा देशका मुख्य–मुख्य राजनीतिक दल र तीन तहको सरकारले समन्वय गर्न सके छिटो समृद्ध नेपाल बनाउन सहयोग पुग्नेछ” उनले सुझाए ।
कृषि क्षेत्रलाई नेपालको प्रमुख पेशा मानिए पनि बजारको अभावले कृषि पेशाबाट कृषक विमुख भएको पाइन्छ । यस पेशामा युवालाई टिकाउने र स्वदेशमा
अदुवा उत्पादन वृद्धि
अदुवाको बजार मूल्य र बजार पाउन समस्या भए पनि तनहुँमा अदुवा उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
उत्पादनको क्षेत्रफल घट्दो छ । अदुवाको बजार पाउन समस्या भएको छ । तर उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तिवारीले बताए। उनका अनुसार तनहुँमा आर्थिक वर्ष २०७७-७८ मा पाँच सय १२ हेक्टर क्षेत्रफलमा सात हजार पाँच सय ४० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७८-७९ मा पाँच सय १७ हेक्टर क्षेत्रफलमा सात हजार छ सय २२ मेट्रिक टन अदुवा उत्पादन भएको तिवारीले जानकारी दिए । कृषिमा लगानी वृद्धि गरी इलेक्टिक प्रशोधन गरी बिक्रीका लागि अन्तर्राष्ट्रिय बजारको व्यवस्थापन गर्न सके कृषकको आकर्षण बढ्ने उनको भनाइ छ । प्रतिकेजी रु ६० का दरले बिक्री गर्दा तनहुँबाट रु ४५ करोडको अदुवा बिक्री वितरण हुनेगरेको उनले बताए । रासस