
आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को सम्पूर्ण छायाँकन सकिएको छ ।
आगामी पुसको १५ गते (डिसेम्बर ३०)देखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको हिजो (शनिबार) सम्पूर्ण छायाँकन सकिएको हो ।
शनिबार चलचित्र यूनिटले हेलिकप्टर चार्टर गरेर लाङटाङ क्षेत्र पुगी एक दृश्य खिच्दै सम्पूर्ण छायाँकन सकेको हो ।
एउटा दृश्यका लागि सम्पूर्ण यूनिट हेलिकप्टर चार्टर गरेर लाङटाङ पुगेको प्रस्तुतकर्ता एवं निर्माता रामप्रसाद रिजालले जानकारी दिए । उक्त दृश्य खिचिएसँगै चलचित्रको सम्पूर्ण छायाँकन सकिएको उनले बताए ।
शनिबारको एकदिनको सुटिङमा मात्रै १० लाख रुपैयाँ बढी खर्च भएको निर्माण टिमले जनाएको छ । यसले चलचित्रलाई स्तरीय बनाउन निर्माण टिमले गरेको मेहनतलाई प्रष्ट पार्छ । निर्माण टिमले चलचित्रको दृश्यदेखि गीतमा निकै मेहनत गरेको छ ।
प्रवीण झा निर्देशित ‘डिसेम्बर फल्स’ एक्सन र लभस्टोरी जनरामा निर्माण भएको चलचित्र हो । विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको यसै चलचित्रमार्फत आर्यन र उपासनाले पहिलोपटक एकअर्कासँग स्क्र्रिन शेयर गरेका हुन् । चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ ।
राजकुमार भट्ट पनि निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् ।
महेश आर गुप्ताको छायाँकन रहेको चलचित्र सम्पादनको जिम्मेवारी भने बनिश शाहमा छ । पोष्टर, टिजर र गीतबाट यो चलचित्रले निकै राम्रो हाइप बनाएको छ । चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।
यस्तो छ चलचित्रको टिजर :