१० असार २०८३, बुधबार

सप्तकोसी बाँधको आयु सकियो : जुनसुकै वेला भत्किन सक्छ !

कात्तिक २०, २०७४
सप्तकोसी बाँधको आयु सकियो : जुनसुकै वेला भत्किन सक्छ !
नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठ लामो समयदेखि सिमाना र सीमावर्ती बाँधबारे अध्ययन अनुसन्धान गर्दै आएका छन् । ०६६ सालमा प्रकाशित ‘भारत नेपाल सीमावर्ती बाँध’ पुस्तकमा श्रेष्ठले नेपाल–भारत सीमावर्ती बाँधले नेपाललाई पारेको असरबारे मसिनो गरी व्याख्या गरेका छन् । वर्षायामसँगै सीमावर्ती क्षेत्रमा नेपाली भूभाग डुबानमा पर्न थालेपछि सीमावर्ती बाँधको विषयमा फेरि बहस सुरु भएको छ ।koshi
सप्तकोसी ब्यारेजको समस्या  सन्दर्भमा उनले नयाँ पत्रिकासँग  भनेका छन् -सप्तकोसी ब्यारेजमा जम्मा ५६ ढोका छन् । पर्याप्त ढोका नखोलिँदा नेपाली भूभाग जलमग्न भएको छ । यसपालि पनि कोसी नदी खतराको सीमाबाट माथि पुगेको छ । ब्यारेजमाथि गाडी वारपार गर्ने पुल छुन एकाध मिटर मात्रै बाँकी छ । त्यहाँसम्म पानी आयो भने सडकविच्छेद हुनेछ । सुनसरी र सप्तरीको आवागमन नै बन्द हुनेछ । कोसी ब्यारेजको प्रमुख समस्या भनेको यसको सञ्चालन हो ।
कोसी सम्झौताअनुसार ब्यारेज भारतबाट सञ्चालित छ र पटनास्थित कार्यालयबाट यसको सञ्चालन र रेखदेख भइरहेको छ । कोसी ब्यारेजको ढोका खोल्ने जिम्मा भारतीय कर्मचारीमा छ । जबकि, ब्यारेज हाम्रो भूमिमा बनेको छ । भारतीयले सञ्चालन गर्ने, हाम्रो भूमिमा ब्यारेज हुने नै समस्याको कारण हो ।०६५ भदौ २ गते कोसी ब्यारेजको ढोका नखुल्दा नेपालतर्फ तटबन्ध भत्काएर सुनसरीको हरिहरपुर, श्रीपुर क्षेत्र डुबेका थिए । त्यतिवेला २३ जनाको निधन भएको थियो । बाढीबाट नेपालभन्दा बढी भारतको बिहार प्रभावित भएको थियो । भदौ २ गते ५६ ढोकामध्ये २७ वटा मात्रै खोलिएको थियो । नेपालबाट खैलाबैला भएपछि बल्ल भारतले ४० वटा ढोका खोल्यो । ५६ वटै ढोका खोल्यो भने भारतको बिहार नै सर्वनाश हुने र नखोल्दा नेपालतर्फ पानी जमेर डुबानमा पर्ने अवस्था छ । त्यसकारण अब भारतलाई पनि असर नपर्ने, नेपालमा पनि डुबान नहुने खालको संरचना निर्माण गर्नु नै समस्याको दीर्घकालीन समाधान हुन्छ । यसतर्फ सबैले सोच्नुपर्ने वेला आएको छ ।

कोसीलाई भारतीयहरू बिहारको दुःख भनिरहेका छन् । तर, विद्यमान सम्झौताको अवस्थामा कोसी नदी उनीहरूका लागि वरदान, हाम्रा लागि अभिशाप साबित भएको छ । सप्तकोसी ब्यारेज बनाएको ५० वर्षभन्दा बढी भइसक्यो । कोसी ब्यारेज बनाउँदा पानीको गहिराइ जति थियो, अहिले बालुवा ल्याउँदै थुपार्दै गर्दा बालुवाको मात्रा माथि आएको छ । १९६५ मा कोसी ब्यारेज निर्माण हुँदा कोसीको गहिराइ ३० मिटर थियो, अहिले १० मिटर पनि छैन । किनभने, कोसी ब्यारेजबाट दक्षितर्फ जान नपाएर बालुवा त्यहीँ थिग्रिएर जम्मा भयो ।

सन् १९६५ मा कोसी ब्यारेज निर्माण सम्पन्न भयो । भारतका प्रधानमन्त्री लालबहादुर शास्त्री र राजा महेन्द्रबाट यसको उद्घाटन भएको थियो । कोसी ब्यारेजको सञ्चालन १९९ वर्षका लागि भारतलाई दिइएको छ । यो सम्झौताअनुसार सन् २१६४ सम्म भारतले नै कोसी ब्यारेज सञ्चालन गर्छ । त्यसकारण बाढी आएको वेला कति ढोका खोल्ने/नखोल्ने, मर्मतसम्भार गर्ने/नगर्ने भन्ने सबै भारतको जिम्मामा छ । यो कार्यालय भारतको बिहारस्थित पटनाबाट सञ्चालन हुन्छ ।

वेलामौकामा कोसी ब्यारेजको ढोका नखोल्नाले नेपालको भूमि डुबानमा पर्छ । ब्यारेजको ५६ ढोका छन् भने लम्बाइ ११७५ मिटर छ । कोसीको पानीलाई सोहोरेर ब्यारेजतर्फ ल्याउनका लागि ब्यारेजको उत्तर (नेपाल)तर्फ १२५ किलोमिटर लामो तटबन्ध बनाइएको छ । कोसी ब्यारेज निर्माण भएको ५० वर्ष पुगिसकेको हुनाले जतिखेर पनि भत्किन सक्छ भनिएको छ । इन्जिनियरिङ संरचनाअनुसार सिमेन्टबाट निर्मित संरचनाको आयु ५० वर्ष हुन्छ । यसलाई हामीले गम्भीर रूपमा लिनुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्