२३ जेठ २०८३, शनिबार
आलेख : माओवादीको ओरालो यात्रा

बाटो बिराएको माओवादी आन्दोलन : आजको अवस्थामा आउनुका ७ कारण

मंसिर २५, २०७९
बाटो बिराएको माओवादी आन्दोलन : आजको अवस्थामा आउनुका ७ कारण

नेकपा माओवादी पार्टीको जन्म जनताको मुक्तिका लागि भएको थियो, जुन नेपालका १०% सम्भ्रान्त वर्गको विरुद्धमा र ९०% श्रमजीवी, सर्वहारा एवं उत्पीडित नागरिकको पक्षमा थियो । माओवादी विद्रोह सर्वोच्च एवं क्रान्तिकारी आन्दोलन थियो । यो विद्रोह एक किसिमले शदियौंदेखि विभेदमा पारिएका बहुसंख्यक नेपाली नागरिकका लागि भएको थियो ।

नेपाली समाज र राजनीतिक इतिहासको इमान्दारीपूर्वक मूल्यांकन गर्ने हो भन्ने नेपालमा तीनवटा महाअभियान र त्यसका तीन महानायक चन्द्र-सूर्यझैं अटल रहने छन् । तीमध्ये एक हुन्, पृथ्वीनारायण साह जसले विभिन्न टुक्रामा रहेका स-साना भू–भागलाई जोडेर नेपाल राज्यको विस्तार गर्ने काम गरे ।

दोस्रो व्यक्तित्व हुन्, बीपी कोइराला । उनले निरंकुश सामन्ती राजतन्त्रको ठाउँमा संवैधानिक राजतन्त्रका लागि कठोर संर्घषको नेतृत्व गरे । त्यस्तै तेस्रो व्यक्तित्व हुन्, पुष्पकमल दाहाल प्रचण्ड । उनले १० वर्षको कठोर जनयुद्ध र हजारौं जनताको बलिदानीको जगमा सामन्ती एवं निरंकुश राजतन्त्रलाई उखेलेर संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गरे ।

मूलरूपमा भन्नुपर्दा पृथ्वीनारायण साहले भूमिको एकीकरण गरे भने क. प्रचण्ड ले ३ करोड नेपाली जनताको भावनाको एकीकरण गरेर नयाँ इतिहास रचे । इतिहासको सामान्य समीक्षापछि मुख्यरूपमा मैले नेपालको वर्तमान राजनीति र तेस्रो खण्डको परिवर्तनको प्रमुख नायक माओवादी पार्टीका अध्यक्ष क. प्रचण्डबारे चर्चा गर्न खोजेको छु ।

मेरो बुझाइमा क. प्रचण्ड नेपाली क्रान्तिको नायक हो । वहाँ संघीय लोकतान्त्रिक गणतन्त्र र १० वर्षको  जनयुद्धको महानायक हुनुहुन्थ्यो । जनयुद्धबाट क्रान्तिको छिनोफानो नभएपछि शान्ति समझौतामार्फत नयाँ प्रकारले नेपाली क्रान्तिलाई अगाडि बढाउने नीतिअन्तर्गत नै संविधानसभा मार्फत संसदीय राजनीतिमा आएको हो । तर प्रश्न उठ्छ, जनयुद्धका सफल कमान्डर क. प्रचण्ड संविधानसभा र त्यसपछिको संसदीय राजनीतिमा कहाँ चुक्नुभयो ? २०६४ सालको संविधानसभा चुनावमा सबैभन्दा ठूलो पार्टीको रूपमा मतदान गरेका नागरिकले त्यसपछि किन माओवादीलाई क्रमश: विश्वास गर्न छाडे ? अहिलेसम्म आउँदा किन माओवादी पार्टी काठमाडौं उपत्यका र मधेशबाट बढारियो ? माओवादी पार्टीको दूरावस्थाको कारण माओवादी पार्टी र त्यसका प्रमुख नेतृत्वको गलत आचरण, व्यवहार र आफ्नै नीतिमा आफैं इमान्दार नहुनु हो कि अन्य कुनै कारण हो ? गम्भीर समीक्षा गरी कठोर निर्णयका साथ अगाडि बढ्नुको विकल्प छैन । अन्यथा इतिहासमा गर्व गर्ने तर वर्तमानमा बदनाम हुने खतरा हाम्रो सामुन्ने रहेको छ ।

यसै सन्दर्भमा मैले माओवादी पार्टीलाई वर्तमानको चुनौतीलाई सामना गर्दै गौरवशाली इतिहासको रक्षा गरेर नेपाली नागरिकको आशा र भरोसाको केन्द्रका रूपमा राखिरहन विगतका कमीकमजोरीको कठोर समीक्षा र त्यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता हुनुपर्छ । माओवादी अहिलेको अवस्थामा आउनुका केही कारण छन्, जसलाई बुँदागत रूपमा चर्चा गरौं ।

.जनयुद्धका मुद्दाप्रति इमान्दार नहुनु

जनयुद्धका क्रममा पार्टीले स्वीकार गरेका प्रमुख मुद्दाहरू जस्तै प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी संसद्, पहिचानसहितको अधिकार सम्पन्न स्वायत्त प्रदेश, राज्यका सबै अंग, तह र निकायमा समानुपातिक प्रतिनिधित्व लगायतमा मौन बस्नु पनि आजको अवस्था आउनुको प्रमुख कारणमध्ये एक हो । प्रथम संविधानसभामा सबैभन्दा ठूलो पार्टीसहित क्रान्तिकारी शक्तिहरूको उपस्थितिका बावजुद पनि प्रगतिशील संविधान जारी गराउन असफल हुनु समेत यसको कारण हो भन्न सकिन्छ । दोस्रो संविधानसभामा कमजोर प्रतिनिधित्व भएपछि २२ दलले सडक संर्घषबाट प्रगतिशील संविधानका लागि नेतृत्व दिँदा संर्घष छाडेर सरकारको लोभमा कमजोर संविधान बनाउनका लागि सहमति गर्नु नै आफ्ना वर्ग/समुदायको नजरमा अविश्वसनीय हुनु थियो । त्यहीँबाट मधेशी, जनजाति, मुस्लिम दलित एवं उत्पीडित राष्ट्रियताहरू हामीसँग विमुख हुन शुरू भएको हो । आगामी दिनमा आफ्नो वर्ग/ समुदायलाई विश्वासमा लिन हामीले हाम्रै मुद्दालाई संर्घषको रूपमा अगाडि बढाउनुपर्दछ ।

.चरम गुटबन्दीको अवस्था

माओवादी कमजोर हुनुको अर्को प्रमुख कारण हो पार्टीभित्र हाकाहाकी गुट बनाउनु, अहिले पार्टीभित्र ठूलासाना गरी दर्जनौं गुटहरू छन्। गुटमा नलाग्ने नेताको पार्टीमा कुनै भविष्य छैन । यो गुटबन्दी सामान्य छैन । यसले आफ्नो गुटबाहेक अरूलाई मान्छे नै गन्दैन । त्यति मात्रै होइन यसभित्र यदुवंशी लडाईं जस्तै एकअर्कालाई चुनावमा हराएर आफू विजयी भएको अभिमान गर्ने प्रवृत्ति छ । अहिले माओवादी पराजयको यो पनि प्रमुख कारण हो । तर यसमा अझै गज्जबको कुरा के हो भने यो तमाम गुटबन्दी क. अध्यक्षकै जानकारी एवं प्रोत्साहनमा हुने गरेको छ ।

एकप्रकारले भन्ने हो भन्ने क. प्रचण्ड माओवादीको अध्यक्षभन्दा पनि दर्जनौं गुटका खलनायकहरूको अध्यक्ष हुनुभयो जस्तो अनुभूति हुन्छ । मलाई आश्चर्य लाग्छ, मार्क्सवादको कुन सिद्धान्तका आधारमा यसरी विचारविहीन र सिर्फ अवसरका लागि गर्ने गुटबन्दीलाई पार्टीले मान्यता दिन्छ ? तसर्थ, पार्टी बचाउनका लागि निर्ममतापूर्वक गुटबन्दीलाई अन्त्य गरिनुपर्दछ । पार्टीको सबै तहमा पूर्ण लोकतान्त्रिक प्रकारले निर्वाचनमार्फत नेतृत्व चयन गरिनुपर्दछ । पार्टी पूर्णरूपमा विधि विधान र अनुशासनमा सञ्चालन हुनुपर्दछ ।

गुटबन्दी र अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कडा कारवाही गरिनुपर्दछ ।

जनयुद्धमा सफल नेतृत्व प्रदान गर्नुभएका हाम्रा अध्यक्ष क. प्रचण्ड र उहाँका पदाधिकारीहरू समयको मागअनुसार रूपान्तरण हुन आवश्यक छ, अन्यथा पार्टी र सरकार सञ्चालनमा देखिएको कमीकमजोरीका कारण नागरिकको नजरबाट ओरालो लागेको माओवादी पार्टीलाई नयाँ जीवन प्रदान गर्न नयाँ नेतृत्वहरूका लागि बाटो खुला गरिदिनुपर्छ । हैन भने हाम्रै जीवनकालमा शिखरमा पुगेको माओवादी आगामी दिनमा भूमिकाविहीन हुनसक्छ ।

.सर्वहारा वर्गीय जीवनशैली परित्याग गर्नु

भनिन्छ, नागरिकले सिद्धान्तबाट होइन नेताको जीवनशैली र व्यवहारबाट विचारलाई बुझ्ने गर्दछन् । शान्ति प्रक्रियाको शुरूआतमा देखिएको प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य लगायतका नेताहरूको जीवनशैली र व्यवहार त्यसको एक वर्ष नबित्दै सम्भ्रान्त वर्गका रूपमा बदलिनु पनि आमनेपाली नागरिकको आलोचनाको विषय बन्यो । माओवादी पार्टीका नेताहरूलाई सरल, सहज र आमनागरिककै रूपमा नेपाली नागरिकले रुचाएका थिए ।

ठूलो नेताको जीवनशैलीमा देखिएको तडकभडकपूर्ण जीवनशैलीलाई नै मझौला नेता कार्यकर्ताले पनि अनुकरण गर्दा देशभरि नै माओवादी नेता तथा कार्यकर्ताप्रति नकारात्मक धारणा निर्माण हुन गयो । यसले गर्दा नागरिकले कांग्रेस-एमालेभन्दा माओवादी भिन्न रहेको अनुभूति गर्न सकेनन् । र, नागरिकले पुरानै उखान माओवादीबारे पनि दोहोर्‍याए- 'जुन जोगी आए पनि कानै चिरेका' । तसर्थ नेताको जीवनशैली समाजवादी अर्थात् आमनागरिकसरह हुनुपर्दछ ।

.सुशासनको प्रत्याभूति दिलाउन नसक्नु

कांग्रेस-एमाले पार्टीका सरकारले नागरिकसँग गर्ने व्यवहार, दिने सेवा सुविधा र विपन्न नागरिकप्रति हुने विभेदमा माओवादीले सरकारको नेतृत्व गर्दा पनि उल्लेख्य सुधार आउन सकेन । जनताले खासै फरक अनुभूति गर्न सकेनन् । यस कारणले पनि माओवादीबाट नागरिकले नयाँ अनुभूति गर्न सकेनन् । फलस्वरूप युवा, बुद्धिजीवी, तथा व्यापारीहरूको आकर्षण माओवादी बन्न सकेन । अहिले आक्रोशित नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राप्रपा लगायतलाई मतदान गरेका छन् ।

सुशासनको अनुभूति नभएकै कारण वाक्क दिक्क भएर ठूलो संख्यामा नागरिकले ती दललाई मतदान गरेका हुन् । करीब २० औं लाख बौद्धिक मतदाताले स्थापित पार्टीहरूका विरुद्ध एक प्रकारले साइलेन्ट विद्रोह भएको छ । यसबाट अझै पनि शिक्षा लिएर आफूलाई नसच्याउने हो भने आगामी दिनमा नागरिकले रामराम भन्न मात्रै बाँकी रहनेछ, काँध थाप्ने छैनन् ।

.भ्रष्टाचारविरुद्ध विद्रोह गर्न नसक्नु

भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग हो । आमनागरिक भ्रष्टाचारको पीडाबाट छट्पटाइरहेका छन् । भ्रष्टाचारकै कारण करीब ८-१० खर्ब रूपैयाँ राज्यको ढुकुटीमा आउन पाउँदैन, चाहे व्यापक राजस्व चुहावटका कारणले होस् वा गलत कर नीतिका कारण नै किन नहोस् । जुन देशमा १७ खर्बको बजेट हुन्छ, त्यहाँ करीब १२ खर्ब तलब भत्ता र सेवा सुविधामा नै विनियोजन हुन्छ । बाँकी ४-५ खर्ब रकम विकास निर्माणमा छुट्याइएको अवस्थामा ठूलो परिमाणको रकम विभिन्न किसिमले दुरुपयोग भएपछि देश कसरी बनाउन सकिन्छ ? तर दुर्भाग्य क्यान्सरको रूपमा देखा परेको भ्रष्टाचारविरुद्ध माओवादी पार्टीले आजसम्म कुनै अभियान, कुनै आन्दोलन सञ्चालन गरेको छैन, जुन नागरिकको नजरमा भ्रष्टाचारलाई प्रोत्साहन गर्नुसरह भएको छ । तसर्थ, माओवादी पार्टीलाई पुनःजीवन दिनका लागि 'एक नगर, एक भ्रष्टाचार विरुद्धको दस्ता' निर्माण गरेर लाखौं युवालाई भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी बनाउनु पर्दछ । नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउने पार्टीका रूपमा माओवादीलाई अगाडि बढाउनु पर्दछ ।

.आत्मविश्वास गुमाउनु,अप्राकृतिक गठबन्धन गर्नु

माओवादी पार्टी ओरालो लाग्नुको एक प्रमुख कारण आफ्नै पार्टीलाई मजबुत नगर्ने, आफ्नै नेता कार्यकर्ताको भर पर्नुभन्दा अरूसँग गठबन्धन नगरी चुनावमा नजाने प्रवृत्ति हो । यसले गर्दा पार्टी कमजोर भएको छ। अरू पार्टीको नजरमा माओवादी स्याटेलाइट पार्टी वा बैशाखीविना चुनावमा जान नसक्ने पार्टी भएको छ । हामीले अझै पनि आफ्नो कमी कमजोरीलाई सच्च्याएर आफ्नै खुट्टामा उभिने आशा र विश्वाससहित अगाडि बढेनौं भने हाम्रो पार्टीको विघटन वा विसर्जनबाट कसैले रोक्न सक्दैन ।

.युवाप्रति उदासीन रहनु

हाम्रो पार्टीको मुख्य नेतृत्व मोटामोटी ६५ वर्ष काटेका व्यक्तिहरूकै हातमा रहेको छ । युवाहरूलाई केन्द्रीय समितिमा प्रवेश दिए पनि नेतृत्वको प्रमुख स्थानहरू केन्द्रीय तथा प्रदेश पदाधिकारी वा सरकारको नेतृत्व गर्ने ठाउँमा नेतृत्व दिएको देखिँदैन। अपवादको रूपमा केही सीमित युवालाई सरकारमा पठाएबाहेक नयाँ जोश र सोचका नेताहरू पछाडि नै पारिएको छन् । वा नेतृत्वसँग विश्वास बनाउन नसकेका युवाहरूलाई नेतृत्वबाट वञ्चित गरिएको छ ।

तसर्थ, निष्कर्षको रूपमा भन्नुपर्दा जनयुद्धमा सफल नेतृत्व प्रदान गर्नुभएका हाम्रा अध्यक्ष क. प्रचण्ड र उहाँका पदाधिकारीहरू समयको मागअनुसार रूपान्तरण हुन आवश्यक छ, अन्यथा पार्टी र सरकार सञ्चालनमा देखिएको कमीकमजोरीका कारण नागरिकको नजरबाट ओरालो लागेको माओवादी पार्टीलाई नयाँ जीवन प्रदान गर्न नयाँ नेतृत्वहरूका लागि बाटो खुला गरिदिनुपर्छ । हैन भने हाम्रै जीवनकालमा शिखरमा पुगेको माओवादी आगामी दिनमा भूमिकाविहीन हुनसक्छ । बाँकी आपकी मर्जी ।

salt training

कमेन्ट गर्नुहोस्