०५ साउन २०८३, मंगलबार

कर्णाली प्रदेशका १६ समानुपातिक सांसदमध्ये एक्ला पुरुष कलबहादुर

मंसिर २५, २०७९
कर्णाली प्रदेशका १६ समानुपातिक सांसदमध्ये एक्ला पुरुष कलबहादुर

प्रमुख दलहरूले प्रत्यक्षमा महिलालाई टिकट नदिँदा कर्णाली प्रदेश सभामा समानुपातिकका कूल १६ सिटमा १५ जना महिला उम्मेदवारलाई सिफारिस गर्नुपरेको छ । समानुपातिक मत परिणामअनुसार कर्णाली प्रदेश सभाका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसले पाँच–पाँच सिट, नेकपा (माओवादी केन्द्र)ले चार, नेकपा (एकीकृत समाजवादी) र राप्रपाले एक–एक वटा पाएका थिए । 

प्रत्यक्षका २४ सिटमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका छन् । जसले गर्दा दलहरूले आफूले पाएको समानुपातिक सिटमा महिला पठाउनुपरेको हो । ४० सदस्यीय प्रदेश सभामा १५ जना महिला सदस्य हुँदा महिलाको प्रतिनिधित्व करिब ३८ प्रतिशत हुने भएको छ । संविधानमा संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनैपर्ने व्यवस्था छ । 

१६ समानुपातिक सिटमध्ये एक जनामात्र पुरुष परेका छन् । एमालेबाट खस–आर्य पिछडिएको क्षेत्रबाट हुम्लाका कलबहादुर हमाल प्रदेश सभा सदस्यमा सिफारिस भएका हुन् । एमालेले शनिवार उनीसँगै चार महिलाको नाम निर्वाचन आयोगमा पठाएको हो । 

अदानचुली गाउँपालिका ५ निवासी ६१ वर्षीय हमाल एमाले हुम्लाका जिल्ला अध्यक्ष हुन् । उनी जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको प्रदेश सह–संयोजक समेत हुन् । निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा खस आर्यको तीन नम्बर रहे पनि पिछडिएको क्षेत्रबाट प्राथमिकता क्रममा एक नम्बरमा रहेकाले एमालेले एक जना पुरुषमा उनलाई सिफारिस गरेको हो । 

खस आर्य कलष्टरमा सुर्खेतका बालाराम शर्मा प्राथमिकता क्रम एक नम्बरमा थिए । तर, पिछडिएको क्षेत्रबाट दुई जना पठाउनुपर्ने बाध्यता भएपछि शर्माको साटो तीन नम्बरका हमाललाई पठाइएको हो । हमालसँगै एमालेले पिछडिएको क्षेत्रबाट दलित महिला कलष्टरकी गमता विक (दैलेख) लाई सिफारिस गरेको छ । 

एमालेले दक्षिणा शाही (कालीकोट), तुल्सा मल्ल (रुकुम पश्चिम) र नन्दा गुरुङ (सुर्खेत) लाई सिफारिस गरेको छ । 

कांग्रेसले जानकी सिंह, बलिमाया बुढा (सुर्खेत), लक्ष्मी सुनार (सल्यान), विजया बुढा (हुम्ला) र इन्द्रा शाही (दैलेख) लाई सिफारिस गरेको छ । माओवादी केन्द्रले भने आफूले पाएका चार सिटमा निर्वाचन आयोगलाई सिफारिस गरेको विवरण सार्वजनिक गरेको छैन । नेकपा एकिकृत समाजवादीले कल्याणी खड्का (रुकुम पश्चिम) र राप्रपाले सन्तोषी शाही (सुर्खेत) लाई सिफारिस गरेको छ । 

मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमध्ये कांग्रेस र माओवादी केन्द्रले ९–९ , एमालेले ५ र स्वतन्त्रले १ स्थानमा जितेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्