
लयर्स कुखुरा पालनले स्थानीय युवराज अधिकारी राम्रो आम्दानी गर्न सफल भएका छन् । कपिलवस्तु शिवराज नगरपालिका ४ वसन्तपुरका अधिकारीले वैदेशिक रोजगारी त्यागेर कुखुरा पालनमा लागेका थिए ।
स्वदेशमै केही गरौं भन्ने लक्ष्यसाथ अधिकारीले एक दशकदेखि यस व्यवसायमा लागेको बताए । आधुनिक प्रविधिमार्फत शुरुमा तीन सय कुखुराबाट व्यवसाय गरेका अधिकारीले कुखुराका लागि आवश्यक पर्ने दाना पनि स्वयम्ले उत्पादन गर्नेगरेका छन् ।
कुखुराको मासु, चल्ला, अण्डा, कुखुराको मल समेत विक्री गरेर उनले राम्रो आम्दानी गर्न सफल भएका छन् । अहिले उनको खोरमा पाँच हजार बढी कुखुरा रहेका छन् ।
शुरुमा न्यून लगानीबाट व्यवसाय शुरु गरेका अधिकारीले अहिले करिब डेढ करोड रुपियाँ लगानी भएको बताए । कुखुरा पालनबाट मासिक लाखौं रुपियाँ आम्दानी हुनेगरेको उनको भनाइ छ । विदेशमा श्रम बेच्नुभन्दा सीप सिकेर यही राम्रो आम्दानी गर्न सकिने भन्दै उनले युवालाई स्वदेशमै केही गर्न सुझाव दिए ।