
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ ।
निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२(७३ मा यस सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर पछि त्यस कम्पनीबाट श्रेष्ठ निर्माण कम्पनीका श्रेष्ठले कालोपत्रे गर्ने जिम्मा लिए । उनले अहिलेसम्म आधा काम पनि पूरा गर्न सकेका छैनन् ।
सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले स्थानीय आजित भएका छन् । बागलुङवासीको लाइफलाइनका रुपमा रहेको लोकमार्गको ट्रयाक खुलेको २५ वर्ष भयो । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो । अहिले सडकको अवस्था बेहाल छ । सडकको धुलो र हिलोले गर्दा स्थानीय बसाइँसराइ गर्न बाध्य भएको स्थानीय हरिलाल कँडेलले बताए । सडक छेउका घर हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको उनले बताए । धुलोका कारण स्थानीयको उठीबास लागेको उनको भनाइ छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडक कालोपत्रे गर्ने आयोजना सुरु भएपछि धेरै पटक निर्माण कम्पनीले म्याद थप्यो तर काम भने गरेन । अहिले ठेकेदार भागेपछि लोकमार्गको काम ठप्प भएको छ । लोकमार्गको बागलुङ–अक्षते खण्डमा काम भए पनि अक्षते–घोडाबाँधे खण्डमा भने काम हुन सकेको छैन ।
काठेखोला गाउँपालिका–५ का पूर्वअध्यक्ष शिवप्रसाद कँडेलले एक महिनादेखि ठेकेदार हराउँदा लोकमार्गको काम ठप्प भएको बताए । आफूहरुले पटक–पटक सडकको काम सक्न आग्रह गरे पनि बेलाबेलामा सम्पर्कविहीन हुने गरेको उनको भनाइ छ । स्थानीयले धेरै पटक सडकमै धर्ना दिए पनि ठेकेदारले बेवास्ता गरेको उनले बताए ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले लोकमार्ग वर्षौंदेखि स्थानीयको समस्या बनिरहेको बताए । आफूहरु जनप्रतिनिधि भएर पालिकामा आएपछि ठेकेदार र प्रशासनलाई झकझकाउने काम गरिरहेको बताए । अध्यक्ष थापाले तल्लोभन्दा माथिल्लो खण्डमा काम निकै सुस्त गतिमा भएको भन्दै कामलाई चुस्त बनाउन दबब दिइरहेको जानकारी दिए ।
मध्य पहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बागलुङमा पर्ने सबै खण्ड आगामी असार मसान्तसम्म सक्ने दाबी गरे । अब बागलुङमा १२ किलोमिटर सडक कालोपत्रे गर्न र केही स्थानमा मर्मतसम्भार गर्ने काम बाँकी रहेको भन्दै निर्माण कम्पनीलाई दबाब दिएको बताए । प्रमुख भण्डारीले ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयार भएको बेला सरकारले असार मसान्तसम्म म्याद थप गरी दिएको हुँदा प्रक्रिया अगाडि सार्न नसकेको उनको भनाइ छ ।
लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जसमध्ये अब १२ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । बाँकी १२ किलोमिटर सडक पनि आगामी असार मसान्तसम्म जसरी पनि सक्ने लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । रासस