नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याउने तयारी गरेको अध्यादेशप्रति असहमति जनाएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटमार्फत सरकारी निर्णयप्रति असहमति जनाएका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, “सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य, त्यसैले सार्वजनिक दर्ज होस् असहमति ।” संक्रमणकालमा अध्यादेश ल्याउँदा दलहरुबीच र पार्टी भित्र पनि घनिभूत छलफलको आवश्यकता उनले औल्याएका छन् ।
महामन्त्री शर्माले भनेका छन्, “संक्रमणकालमा अध्यादेश ल्याउन दलहरुबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत । कानुनी र राजनीतिक प्रश्न मात्र होइन ।”
यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको उनले बताएका छन् । सरकारले हिजो मात्रै टीकापुर घटनाका दोसी करार गरिएका तथा मधेस आन्दोलनमा पक्राउ परेकाहरुलाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।