
नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कलेज अफ मेडिकल साइन्स भरतपुरका चिकित्सकहरुद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारी, उनीहरुका आश्रित परिवारजनलगायत स्थानीय सर्वसाधारणका लागि मंसीर २४ गते बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडा परिषरमा र २५ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण पिलुवा बारामा उक्त स्वास्थ्य शिविर संचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्वास्थ्य शिविरमा नेपाल प्रहरीका ७२ जना तथा सशस्त्र प्रहरी बल नेपालका १३२ जना र स्थानीय सर्वसाधारण ११६ जना गरी कुल ३२० जनाको स्वास्थ्य परीक्षण गर्नुकासाथै निःशुल्क रुपमा औषधी वितरण समेत गरिएको थियो ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले मायाको चिनो प्रदान गरेका थिए ।
त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मायाको चिनो प्रदान गरे । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनबाट प्रदेशस्थित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवक कर्मचारीको मात्र नभई स्थानीय सर्वसाधारणहरुको समेत स्वास्थ्य परीक्षण गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे ।