
कुमारी बैंक लिको विशेष साधारण सभा आइतवार कुमारी बैंक लिमिटेड, नक्साल कार्यालय, काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न सो सभाबाट विशेष प्रस्तावको रुपमा पेश गरिएको कुमारी बैंक लि.र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) गर्ने पारित भएको छ ।
त्यस सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी बाँकी कार्य र आवश्यक प्रकृयाहरु पूरा गरी नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने, मर्जर सम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गर्ने, एक आपसमा गाभ्ने÷गाभिने (मर्ज) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ ः १ स्वीकृत गर्ने निर्णय पारित भएको छ ।
त्यस्तै दुई बैंकबीच एक आपसमा गाभिएपछि बन्ने संस्था कुमारी बैंक लिमिटेडको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही अनुसार पूँजी वृद्धि गरी वृद्धि भएको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी अनुसार प्रबन्धपत्रको दफा ५(क), ५(ख) र ५(ग) संशोधन गर्ने तथा नियमावलीको नियम ८ मा संचालक संख्या ७ जना हुने गरी र नियम २९ मा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्तावसमेत पारित भएको छ ।
कुमारी बैंक लि.र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्ज) सम्पन्न भएपश्चात चुक्ता पूँजी रु.२६ अर्बभन्दा बढी हुने छ भने शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) ३ खर्ब १ अर्बभन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ ।
कुमारी बैंक लि.ले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण शेयरधनी, संचार जगत, बैंकसंग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिलेसम्म प्राप्त सहयोग, सद्भाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो छरिटो र सरल बैकिङ सेवा दिने क्रम जारी रहने प्रतिबद्घता व्यक्त गरेको छ ।