२९ जेठ २०८३, शुक्रबार
प्रदेश १ को राजनीति

प्रदेश संसदीय दलको नेता बन्न कांग्रेसमा रस्साकस्सी: शेखरको साथ खोज्दै आकांक्षी

मंसिर २६, २०७९
प्रदेश संसदीय दलको नेता बन्न कांग्रेसमा रस्साकस्सी: शेखरको साथ खोज्दै आकांक्षी

मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएपछि नेतृत्वदायी भूमिका चाहने सांसदहरू संसदीय दलको नेता बन्ने प्रयासमा लागेका छन् । समानुपातिक सांसदको नाम समेत सिफारिस भएपछि सांसदहरू संसदीय दलको नेता बन्नका लागि दौडधूपमा लागेका हुन् । 

१ नम्बर प्रदेशमा संसदीय दलको नेता बन्नका लागि कांग्रेसभित्र धेरै नेताको दौडधूप देखिएको छ । नेकपा एमाले तथा माओवादी केन्द्रमा भने १/१ जना आकांक्षी मात्र देखिएका छन् । एमालेमा निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्की एकल दाबेदार छन् भने माओवादी केन्द्रमा ईन्द्रबहादुर आङ्बो एक्ला दाबेदार छन् ।

कांग्रेसमा ५ जना आकांक्षी छन् । कांग्रेसमा संस्थापन पक्षका २ जना आकांक्षी छन् भने संस्थापनइतर पक्षबाट डा. शेखर कोइराला पक्षका १ जना र नेता कृष्णप्रसाद सिटौला पक्षका २ जना आकांक्षी छन् । संस्थापन पक्षका अमृत अर्याल र हिमाल कार्की संसदीय दलको नेता बन्ने दौडमा छन् ।

नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीम पराजुली र उद्धव थापा नेता बन्ने दौडमा छन् भने संस्थापनइतर समूहका केदार कार्की संसदीय दलको नेता बन्ने दौडमा छन् । 

अर्याल र पराजुली केन्द्रीय सदस्य हुन् भने थापा प्रदेश कार्यसमिति सभापति हुन् । पराजुली विराटनगर महानगरपालिकाका निवर्तमान मेयर पनि हुन् । केदार प्रदेशका बहालवाला मन्त्री हुन् । केदार आन्तरिक मामिला तथा कानूनमन्त्री हुन् भने हिमाल भौतिक पूर्वाधार विकास मन्त्री हुन् । केदार प्रमुख सचेतक पनि भएका थिए । हिमाल अघिल्लो कार्यकालमा संसदीय दलको उपनेता थिए । 

१ नम्बर प्रदेशमा कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सांसद जितेको छ । प्रत्यक्ष र समानुपातिक गरेर कांग्रेसका २९ सांसद छन् । २९ मध्ये संसदीय दलको नेता बन्नका लागि १५ जना सांसदको समर्थन चाहिन्छ । एकल समूहभित्र १५ जना पुग्ने देखिदैन । 

संस्थापन पक्षमा ११ जना, इतर समूहमा ८ जना र कृष्णप्रसाद सिटौला समूहमा ९ जना देखिएका कांग्रेसकै एक नेताले बताए । संस्थापन पक्षमा अमृत अर्याल, हिमाल कार्की, सदानन्द मण्डल, इसाइल मन्सुरी, खगेनसिंह हाङ्गाम, प्रदीपकुमार सुनुवार, गोल्मा तामाङ, लीलाकुमारी राई, सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ र ममता मगर तामाङ छन् । 

संस्थापन इतर समूहमा केदार कार्की, शमशेर राई, रामकुमार खत्री, इन्दिरा थापा, विनोद राई, मानबहादुर लिम्बू, गोविन्द गिरी र गयानन्द मण्डल र मैया श्रेष्ठ गरी ९ जना छन् । सिटौला समूहमा उद्धव थापा, भीम पराजुली, भूमिप्रसाद राजवंशी, भूपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्गा, लेखीकुमारी गणेश र गोपाल तामाङ गरी ९ सांसद छन् । 

संसदीय दलको नेता बन्नका लागि आकांक्षीहरू पार्टी सभापति शेरबहादुर देउवाभन्दा पनि नेता शेखर कोइरालालाई फकाइरहेका छन् । संस्थापन पक्षकै नेताहरू पनि शेखरको साथ लिएर संसदीय दलको नेता बन्ने दौडमा छन् । 

अर्याललाई देउवा पक्षकै नेताहरू नै असहयोग गर्न थालेपछि उनी संस्थापनइतर समूहका नेताहरूलाई फकाउन थालेका छन् । अर्यालले शेखरलाई राजनीतिमा सघाउने शर्तसहित फकाउन थालेका काग्रेसका एक नेताले बताए । ती नेताका अनुसार मोरङको चुनावमा आफ्ना पक्षका नेतालाई टिकट ल्याउन अर्यालले लबिङ नगरेको भन्दै संस्थापन पक्षकै रमेशजंग रायमाझी, डा. डिला संग्रौला तथा दिलिप गच्छदार लगायतका नेताहरूले असहयोग गर्न थालेपछि उनी शेखरको शरणमा पुगेका छन् ।

अर्यालले चुनाव जितेलगत्तै कोइराला निवासमा पुगेर शेखरसँग आशीर्वाद लिएका थिए । उनी प्रदेशसभा टिकट पाएपछि नै शेखरसँग नजिक भएका थिए ।

सिटौला पक्षका उद्धव थापा पनि शेखर कोइरालालाई फकाइरहेका छन् । १४औं महाधिवेशनमा कोइराला खेमाबाट सिटौला खेमामा पुगेर केन्द्रीय सदस्य भएका पराजुली मुख्यमन्त्रीको हल्ला गरेर मन्त्री बन्ने दाउमा रहेका नेताहरू बताउँछन् ।

शेखरले कसलाई सघाउने भनेर मुख खोलेका छैनन् । प्रतिनिधि सभामा आफैं संसदीय दलको नेता हुने कि महामन्त्री गगनकुमार थापालाई सघाउने भन्ने निर्क्यौल गरी नसकेका कोइरालाको समर्थन कसलाई हुने भन्ने खुलेको छैन ।

शेखरले अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर नखुल्नु र देउवा पक्षका नेताहरूले आफ्नै पक्षका नेतालाई असहयोग गरेका कारण सत्ता गठबन्धनको सरकार बनेमा १ नम्बर प्रदेशमा माओवादी तथा नेकपा एकीकृत समाजवादीको भागमा पर्ने सम्भावना बढेको कांग्रेसकै नेताहरू बताउँछन् ।

प्रदेश सरकार बन्न जसपा निर्णायक छ । जसपाले समानुपातिकमा १ सिट जितेको छ । एमाले–राप्रपासँग ४६ सांसद छन् भने सत्ता गठबन्धनसँग पनि ४६ सिट रहेका छन् । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्