काठमाडौं, ३० साउन — शुक्रवार मध्यरातदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरण एवं खोज, उद्धार तथा राहतको लागि नेपाली सेनाका करीब २१ सयजना उद्धार टोलीहरू आवश्यक उद्धार सामाग्रीसहित निरन्तर रूपमा सक्रियताका साथ खटिइरहेको नेपाली सेनाले जनाएको छ ।

आइतवार झापा जिल्लामा तैनाथ युनिटबाट खटिएका उद्धार टोलीले जिल्लाको सिवसतासी नगरपालिका वडा नं. ४ मा डुबानमा परेका २६८ जना र सुनसरी जिल्लामा तैनाथ युनिटबाट खटिएका उद्धार टोलीले जिल्लाको विभिन्न स्थानमा डुबानमा परेका ५५० जनालाई सुरक्षित स्थानमा सार्न मद्दत गरेको छ ।
दिनभरिमा देशभरिका विभिन्न स्थानमा डुबानमा परेका करीब एक हजारभन्दा बढी व्यक्तिहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा सार्न मद्दत गरेको छ ।
त्यसैगरी बारा जिल्लामा तैनाथ युनिटबाट खटिएका उद्धार टोलीले लालबकैया खोलामा बाँध निर्माणमा सहयोग गर्नुको साथै चुरियामाई इलाका र मकवानपुर जिल्लामा तैनाथ युनिटबाट खटिएका उद्धार टोलीले भीमफेदी (गुप्तेश्वर) इलाकामा पहिरोबाट अवरुद्ध भएको सडक खुलाउने कार्य गर्नुको साथै चितवन जिल्लाको जगतपुर इलाकामा फसेका करीब ३०० जना विद्यार्थीहरूलाई काठमाण्डौंबाट एमआई–१७ हेलिकप्टरमा गएको विशेष उद्धार सामग्रीसहितको टोलीले उद्धार कार्य गरिरहेको छ ।
खोज तथा उद्धारकै क्रममा बाँके जिल्लामा तैनाथ युनिटबाट खटिएका उद्धार टोलीले डुबानका कारण विस्थापित भएका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा मद्दत गर्नुको साथै बैजपुर र फत्तेपुर लगायतका इलाकामा खाद्यान्न सामाग्रीहरू वितरण गरेको छ भने सल्यान जिल्लामा तैनाथ युनिटबाट खटिएका उद्धार टोलीले पहिरोमा पुरिएको गाडीबाट एकजनाको शव निकाल्न सहयोग गरेको छ ।
पाँचथर, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, सिन्धुली, पाल्पा, नवलपरासी, बर्दिया, दाङ लगायतका जिल्लाहरूमा उद्धारका सामग्रीहरू सहितको नेपाली सेनाका उद्धार टोली खटिई तदारुकताका साथ खोज, उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् ।