०२ असार २०८३, मंगलबार

विराटनगर डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन

मंसिर २७, २०७९
विराटनगर डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन

विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन शुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा वर्षाको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन शुरु गरेको हो ।

वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्नेगरेको छ । महानगरलाई वैज्ञानिकरूपमै डुबानबाट मुक्त गर्न एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन शुरु गरेको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए । प्रमुख कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण पनि गरेको छ । आरयुडीपी प्रोजेक्टअन्तर्गतको स्मेक डिएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको प्रमुख कोइरालाले बताए । 

विराटनगरमा जम्ने पानीलाई कसरी सिङ्घिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडीबीका परामर्शदाताबाट अध्ययनको सुरुआत गरिएको उनको भनाइ छ । त्यस्तै, पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोला लगायतको पानीलाई पनि मूलखोलामा लगेर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ ।

“विराटनगरको उत्तरबाट दक्षिण र पूर्वबाट पश्चिमसम्मको भाग हेरिरहेका छौँ” प्रमुख कोइरालाले भने, “एडीबीबाट आएका साथीहरूसँग म आफैँ हिँडिरहेको छु । उनीहरुले अध्ययन गरेपछि एक–दुई हप्ता भित्रैमा प्रतिवेदन तयार हुन्छ र त्यसपछिको प्रक्रियामा अगाडि बढ्नेछौँ ।

स्मेक डीएमका टोलीनेता डा. शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सुक्ष्म अध्ययन गरेको छ । टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ । प्राविधिकसहितको टोलीले विराटनगर वडा नं ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्