२३ जेठ २०८३, शनिबार

गर्भ जाँच गराउन लाज मान्छन् चेपाङ समुदायका महिला

मंसिर २७, २०७९
गर्भ जाँच गराउन लाज मान्छन् चेपाङ समुदायका महिला

चेपाङ समुदायका महिला प्रजनन स्वास्थ्य समस्या देखाउन चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि गरिरहेका छन् । तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन् । लाज मान्ने हुँदा शुरुवाती अवस्थामा गर्भ जँचाउन उनीहरु स्वास्थ्यचौकी पुग्दैनन् ।

पामडाँडा स्वास्थ्यचौकीका अनमी ऋचा हितङ्गाका अनुसार चेपाङ समुदायका महिला समयमै गर्भ जँचाउन आउँदैनन् । समयमै गर्भजाँच नगराउने हुँदा धेरै महिला र बच्चामा विभिन्न समस्या देखिनेगरेको उनले बताइन् । “पेट नदेखिएसम्म केही भन्दैनन्, अरूले थाहा पाएपछि बल्ल जँचाउन आउँछन्” उनले भनिन्, “लाज नै यसको मुख्य कारण हो ।” 

सानै उमेरमा विवाह गर्ने चलनले कतिपय अवस्थामा उमेर नै नपुगी आमा बन्ने र गर्भ जँचाउन लाज मान्ने गरेको उनले सुनाइन् । विद्यालयस्तरबाट नै उनीहरूलाई सचेत गराउँदै लैजानुपर्ने उनको सुझाव छ । 

वडाका अधिकांश चेपाङ महिलामा यो समस्या यथावत छ । “गर्भ बसेको भन्न लाज मान्ने हुँदा चार–पाँच महिना पुगिसकेपछि मात्रै स्वास्थ्यचौकी पुग्छन्” जौगैराकी माया चेपाङले भनिन्, “म आफू पनि कलिलै उमेरमा आमा बनेकीले त्यो अनुभव मैले पनि भोगेँ ।” अहिले गाउँका अन्य महिलालाई सम्झाउने काम गरिरहेको उनले बताइन् । 

बेलैमा गर्भ नजँचाए आफ्नो ज्यान जोखिममा पर्ने र बच्चामा समस्या देखिन सक्ने उनको सुझाव छ । “नयाँ छोरी–बुहारीलाई लजाउन हुँदैन भनेर भन्छु ।” उनले सुनाइन् । उनकै जस्तै जौगैराकै शिला चेपाङको पनि समयमै गर्भजाँच नगर्दा एउटा वच्चा खेर गयो । स्वास्थ्यमा पटक–पटक समस्या देखिएको भन्दै उनले लाजका कारण स्वास्थ्यचौकी नजाँदा अहिले दुःख भोग्नुपरेको बताइन् । गाउँमा चेतनाको स्तर कम हुँदा धेरैले यस्तो समस्या भोग्नुपरेको उनको भनाइ छ । 

चेपाङ समुदायमा समस्या देखिएपछि इच्छाकामना गाउँपालिकाले पनि सचेतनाका कार्यक्रम गरिरहेको छ । समयमै गर्भ जाँच्न आउने महिलाका लागि कम्तीमा चार महिनाका लागि आवश्यक पर्ने क्याल्सियम निःशुल्क वितरण गर्ने तयारी भइरहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिए । 

सङ्घीय सरकारकै योजनाअनुसार चितवनको इच्छाकामना र राप्तीको चेपाङ बस्तीमा चेपाङका लागि पोषण कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । जनचेतनामूलक कार्यक्रमले केही सुधार भए पनि पूर्णरूपमा परिवर्तन ल्याउन नसकिएको सापकोटाको बुझाइ छ ।  सबै निकायको सहकार्य र स्थानीयस्तरमा नियमित सचेतनामूलक गतिविधिले मात्र परिवर्तन ल्याउन सकिने उनको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्