
भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा भिडन्त भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अरुणाञ्चल प्रदेशको तवांगस्थित याङ्गत्से क्षेत्रमा दुवै सेनाबीच झडप भएको हो ।
चिनियाँ सैनिकहरूले भारतीय सैनिकको पोस्ट हटाउन खोजेपछि झडप भएको भारतीय मिडियाका समाचारमा उल्लेख छ । चिनियाँ सैनिकले काँडेदार लाठीले भारतीय सैनिकमा आक्रमण गरेका जनाइएको छ । चिनियाँ सेनाले ढुंगा प्रहार समेत गरेका आरोप छ ।
झडपमा दुवै पक्षका केही सैनिक जवान घाइते भएका समेत बताइएको छ । चीन सीमावर्ती क्षेत्रमा बसाइसराई गराएर गाउँ बनाइरहेको र सडक समेत निर्माण गरिरहेको भारतीय दाबी छ ।
चिनियाँ पक्षले सोचविचार गरेर भारतीय सैनिकमा आक्रमण गर्न ३०० सैनिक परिचालन गरेको भारतीय मिडियाको दाबी छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले घटनाबारे छलफल गर्न आकस्मिक बैठक बोलाएका छन् । बैठकमा विदेशमन्त्री एस जयशंकरसहित तीनै सेनाका प्रमुखहरू सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।