२३ जेठ २०८३, शनिबार

तवाङमा भारतीय र चिनियाँ सैनिकहरूबीच झडप, किन थाहा पाएन भारतले चीनको योजना ?

मंसिर २७, २०७९
तवाङमा भारतीय र चिनियाँ सैनिकहरूबीच झडप, किन थाहा पाएन भारतले चीनको योजना ?

भारतको अरुणाचल प्रदेशको तवाङमा चिनियाँ सैनिकहरू प्रवेश गरेपछि भारतीय सैनिकहरूसँग झडप भएको भारतका सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

शुक्रवार (डिसेम्बर ९) को राति भएको झडपमा दुवै पक्षका सैनिक घाइते भएका छन् । भारतीय सेनाले आफ्ना ६ जना सैनिक घाइते भएको जानकारी दिएको छ । गुवाहाटीस्थित सैन्य अस्पतालमा उनीहरूको उपचार चलिरहेको छ । 

तीनसयदेखि ४०० चिनियाँ सैनिकहरू भारतीय भूमिमा आएको र उनीहरूलाई पनि चोट लागेको बताइएको छ । चिनियाँ जनमुक्ति सेनाले आफ्ना घाइते सैनिकका बारेमा केही बताएको छैन । 

झडपलगत्तै दुवै पक्ष आआफ्नो स्थानमा फर्केको भारतीय सेनाले जनाएको छ । एरिया कमान्डर स्तरमा बैठक भएको पनि जानकारी छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, परिस्थिति अनुकूल भएको मौका छोपी चिनियाँ सैनिकहरू भारतीय भूमिमा प्रवेश गरेका थिए । 

पूर्वी तवाङको यांग्त्से पोइन्टमा झडप भएको हो । यसलाई दुवै पक्षले विवादित इलाकामध्ये एक मानेका छन् । 

यांग्त्से पोइन्टमा एउटा नाला छ । त्यसको एकातर्फ भारतीय अनि अर्कातर्फ चिनियाँ सैनिकहरू तैनाथ छन् । डिसेम्बर १० को बिहान ३ बजेतिर चिनियाँ सैनिकहरू नाला तरेर भारतीय भूमिमा आएका थिए । 

पहरा दिइरहेका सैनिकलाई कुटपिट गरेको आवाज आएपछि तत्कालै ८० जना जति सैनिक पठाइएको थियो । अँध्यारोमा चिनियाँहरूलाई लखेटिएको भारतीय सेनाको दाबी छ । 

केही घन्टासम्म चलेको झडपमा मुक्काका साथै लट्ठी हानाहान समेत भएको थियो ।

दी इन्डियन एक्सप्रेसका अनुसार, चीनले उक्त स्थानमा लामो समयदेखि संरचना निर्माण गर्दै आएको थियो ।  चिनियाँ जनमुक्ति सेनाले घुसपैठको योजना बनाएको थियो । 

झडप भएको ठाउँ घना जंगलभित्र छ । विगत केही दिनयता त्यहाँ दिउँ परिरहेको थियो । अनि झडप भएको दिन घना बादल पनि लागेको थियो । त्यसले गर्दा भारतीय भूउपग्रहहरूले चिनियाँ सैनिकको बढेको संख्या पत्ता लगाउन सकेका थिएनन् । 

झडपपछि भारतीय सेनाले रेडियो फ्रिक्वेन्सी सिग्नल जियोलोकेसन इक्विपमेन्ट उपयोग गरी तस्वीर रिकन्सट्रक्ट गरिरहेको छ । तस्वीरहरूको विश्लेषण गरिँदैछ ।

भारत र चीनबीच साढे दुई वर्षभन्दा बढी समयदेखि वास्तविक नियन्त्रण रेखाका विभिन्न विन्दुहरूमा तनावको स्थिति छ । सन् २०२० मा गलवान उपत्यकामा भएको झडपमा २० जना भारतीय सैनिकहरूको मृत्यु भएको थियो । 

लद्दाखकै देप्साङ क्षेत्रमा चिनियाँ सेनाले तैनाथी बढाएको छ । देम्चोकमा पनि चिनियाँ सेना प्रवेश गर्न खोजेको बताइएको छ । 

अहिले आएर चीनले तवाङ सेक्टरमा प्रवेश गरी नयाँ मोर्चा खोलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्