
सरकारले विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रममा स्थानीय प्रविधि तथा नयाँ आविष्काहरूलाई प्राथमिकता दिने उद्धेश्यका साथ सरोकारवालाहरूसँग परामर्श शुरु गरेको छ । गृह मन्त्रालयले मंगलवार काठमाडौंमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएका तथा जोखिम न्यूनीकरणका लागि भएका स्थानीय प्रयास तथा आविष्कारक संघ संस्थासँग परामर्श गरेको हो ।
कार्यक्रममा विभिन्न किसिमका विपद्जन्य घटनाबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय संघ संस्थाहरूले अवलम्बन गरेको स्थानीय प्रविधि तथा आविष्कारका बारेमा छलफल भएको छ । छलफलपछि मन्त्रालयले विपद् जोखिम न्यूनीकरणका लागि गरिने सरकारी प्रयासहरूलाई प्रभावकारी बनाउनका लागि उपयोगी हुनसक्ने स्थानीय प्रविधि तथा आविष्कारलाई सरकारी कार्ययोजनामा राख्ने बताएको छ ।
कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले स्थानीयस्तरमा भए, गरेका विपद् जोखिम न्यूनीकरणका सफल अभ्यासहरूलाई सरकारले प्राथमिकता दिने बताए । विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपालमा जनचेतना फैलाउने काम पर्याप्त भए पनि विपद्मैत्री विकास निर्माणसम्बन्धी नीति नियमहरू बन्न नसकेको बताए । उनले सरोकारवाला निकाय गम्भीर बन्न नसकेका कारण विकास निर्माण सम्बन्धमा भएका नीति नियम तथा कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।
गृहसचिव सिंहले पछिल्ला दिनहरूमा विकास निर्माणका नाममा भइरहेको सडक विस्तारको दीर्घकालीन असरबारे पूर्वानुमान गरी आवश्यक नीतिगत व्यवस्था गर्न नसक्दा भविष्यमा पनि त्यसबाट पुग्नसक्ने ठूलो क्षति भोग्न बाध्य हुनुपर्ने बताए । सडक विस्तार, ढुंगा, गिटी बालुवाको व्यवसायमा रहेको विद्यमान मापदण्डहरू कार्यान्वयनमा तीन वटै तहका सरकार असफल रहेको स्वीकार गरे ।
कार्यक्रममा एडिपिसीका नेपाल प्रतिनिधि मानबहादुर थापाले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि भए,गरेका प्रयासहरू अत्यन्तै प्रभावकारी देखिएकाले त्यस्ता प्रयासहरूलाई सरकारले संरक्षण र प्रवद्र्धन गर्दै अन्यत्र पनि प्रयोग बढाउँदै लैजानुपर्ने बताए । उनले विपद् जोखिम न्यूनीकरणका लागि नेपालले गरेको अभ्यास विश्वका अन्य मुलुकले पनि अनुकरण गर्ने गरेको बताए । उनले २०५३ देखि शुरु भएको समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएपछि अहिले विश्वका अन्य देशले पनि सोही अवधारणा अनुसार विपद् जोखिम न्यूनीकरणमा लागेको बताए ।
गृहमन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा गैह्र सरकारी क्षेत्रबाट भएका प्रयास र आविष्कारहरूलाई संरक्षण र प्रबद्र्धन गर्ने उद्धेश्यका साथ मन्त्रालयले सरकोकारवालाहरू छलफल गरेको बताए । उनले विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण, पूर्व तयारी, रोकथाम तथा नियन्त्रणका लागि सरकारले गर्ने क्रियाकलापहरूमा गैह्रसरकारी संस्थाहरूबाट भएका विपद् जोखिम न्यूनीकरणसम्बन्धी आविष्कारहरूले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।